धरान : सुनसरी उद्योग वाणिज्य सङ्घले व्यवसायीहरूको कोरोना बिमा निःशुल्क गरिदिने भएको छ ।

नेपालमा द्रुत गतिमा कोरोनाको बिरामीहरू बढिरहेको अवस्थामा व्यवसायीहरूको स्वास्थ्यलाई मध्य नजर गर्दै सङ्घले यस्तो निर्णय गरेको हो । सङ्घको कार्यसमितिको बैठकबाट भएको निर्णय अनुसार सङ्घका सदस्य भएका व्यवसायीहरूले २०७७ आषाढ २० गतेसम्म सदस्य नवीकरण गरेमा ५० हजार बराबरको कोरोना बिमा निःशुल्क गरिदिने भएको हो । यस कार्यको लागि सङ्घले कार्यसमिति सदस्य अनिल ताम्राकारको संयोजकत्वमा बिमा उपसमिति समेत गठन गरिसकेको छ ।

सङ्घका कार्यसमिति सदस्य विष्णु बरालका अनुसार यदि व्यवसायीहरूको पीसिआर टेस्टमा कोभिड–१९ को रिपोर्ट पोजेटिभ आएमा बिमा कम्पनी मार्फत बिमा गरिएका व्यवसायीले ५० हजार पाउने बताए ।

घर बहाल समस्या समाधान समिति गठन
कोरोना (कोभिड-१९) को कारण गत चैत्र ११ गतेदेखि लकडाउनका कारण सम्पूर्ण व्यवसायहरू बन्द रहेको अवधिमा उद्योग/व्यवसाय सञ्चालन गरेको स्थानको घर बहालका सम्बन्धमा सुनसरी उद्योग वाणिज्य सङ्घले सहजीकरण गर्ने निर्णय गरेको छ ।

सोही अनुसार २०७७ साल ज्येष्ठ ३० गते बसेको सङ्घको कार्यसमितिको बैठकबाट सङ्घका द्वितीय उपाध्यक्ष अनिल कुमार अग्रवालको संयोजकत्वमा घर बहाल समस्या समाधान समिति गठन गरेको छ ।

सङ्घका महासचिव राजेश अग्रवालका अनुसार सो समितिले व्यवसायी र घरधनीका बिचमा मध्यस्थकर्ताको भूमिका खेल्ने तथा घर भाडा छुट दिने घरधनीहरूलाई सम्मान समेत गरिने बताए ।