प्रकाशपुर : रामधुनी मन्दिर देखि प्रकाशपुर बजार सम्म बन्दै गरेको पक्की सडक भत्किन थालेको छ । गत शनिवार मात्र पिच बनेको शिकारीथान देखि प्रकाशपुर बजार सम्मको पक्की बाटो भत्किन थालेको छ ।

पप्पु कन्ट्रक्सनले बनाइरहेको पक्की सडकमा कमसल सामाग्री प्रयोग गरेको भन्दै बराहक्षेत्र ९ र १० प्रकाशपुरका स्थानीयहरूले आपत्ति जनाएका हुन् ।

'पक्की गरेको ३-४ दिनमा यसरी भत्किन थालेको छ' औलाले पिच उक्काएर देखाउदै स्थानीय रमेश बिस्टले भने 'आज पानी परेपछि यसरी भत्किन सुरु भइसक्यो ।'

एसियाली विकास बैङ्कको ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानीमा निर्माणाधीन करिब १८ किलोमिटर सडक पक्की हुनेछ । लौकही–झुम्का सडक खण्डको प्रकाशपुरको शिकारीथान देखि प्रकाशपुर बजारसम्मको बाटोमा बनाइ नसक्दै भत्किन थालेकाले स्थानीयहरूले विरोध गरेका हुन् ।

यता ३-४ दिन मै सडक भत्किएको विषयमा स्थानीयहरूले सडकका कर्मचारीहरू लाई बोलाएर गुनासो व्यक्त गरेका छन् ।

'हामीले ठेकेदार, सडकका कर्मचारीलाई भत्किएको बाटोमै ल्याएर देखाएका छौ' स्थानीय तेज गुरुङले भने 'केही दिनमा फेरी बनाउने आश्वासन पाएका छौ, बाटो गुणस्तरीय नभएसम्म सम्म हामी सङ्घर्ष गरिरहन्छौ ।'

एसियाली विकास बैक र नेपाल सरकारले लगानी गरेको सुनसरीमा २ वटा सडक खण्डहरू बनाउने जिम्मा पप्पु कन्स्ट्रक्सनलाई पाएको छ । पप्पुले पाएको ठेक्का भुमि कन्स्ट्रक्सन हुदै हाल इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष भिम पौडेलको पाथिभरा कन्स्ट्रक्सनले जिम्मा लिएको बुझिएको छ ।