वराहक्षेत्र : सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ स्थित कोशीपारी श्रीलङ्का टप्पुका विद्यार्थीहरू कक्षा ९ पढ्न मूल कोशी तरेर चक्रघट्टी, राजाबास तथा कोशीको भङ्गालो पार गरेर बेलकाको भागलपुर वा रामपुर पुग्नु पर्ने बाध्यता रहेको थियो । गाउँमा रहेको जनता आधारभूत, कौशीका आधारभूत र वालसेवा आधारभूत विद्यालयहरूमा कक्षा ८ र कक्षा ५ सम्म पढ्न पाठन हुने भएकाले कक्षा ८ पास गरेपछि त्यहाँका विद्यार्थीहरू घण्टौँ हिँडेर तथा कोठा भाँडामा लिएर चक्रघट्टी, राजाबास, भागलपुर र रामपुरका विद्यालयमा पढ्न जाने गर्दथे ।
तर अब भने त्यहाँका विद्यार्थीहरूको त्यो बाध्यता अन्त्य हुने भएको छ । नगरपालिकाले वडा नं ६ कोशीपारी स्थित गरैयामा रहेको जनता आधारभूत विद्यालयमा यसै २०८१ सालको नयाँ शैक्षिक सत्रदेखि माध्यमिक तह कक्षा नौ सञ्चालन सुरु गरेपछि त्यहाँ बिद्यार्थीहरुको घण्टौँ हिँडेर माध्यमिक तह पढ्न जानू पर्ने बाध्यता अन्त्य भएको हो । गाउँकै विद्यालयमा कक्षा नौ को पठनपाठन सुरु भएपछि वर्षौँ देखिको विद्यार्थीको चाहना पूरा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन चन्द्रवंशीले बताए ।
प्राय चाहिँ, मण्डल, चन्दवासी, यादव, माझी र राई जातिको बसोबास रहेको उक्त टप्पुमा रहेको विद्यालयमा नै कक्षा नौ सञ्चालन भएपछि स्थानिय अभिभावक र विद्यार्थीहरूलाई ठुलो राहत मिलेको स्थानिय समाजसेवी बद्री राई बताउँछन् । टप्पुका विद्यार्थीहरूको समस्यालाई बुझेर नगर प्रमुख रमेश कार्कीले विद्यालयलाई मावि बनाउने कार्य गरेको भन्दै उनले खुसी व्यक्त गरेका छन् ।
वर्षौँ देखिको स्थानीयको माग र विद्यार्थीहरूको आवश्यकतालाई बुझेर नगर प्रमुख रमेश कार्कीले विद्यालयलाई मावि बनाएको र कोसी टप्पुमा शिक्षाको विकासमा एक तह माथि उक्लिएको टप्पु स्थित कौशीका आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन मण्डल बत्ताउँछन् ।
विद्यालयमा मावि तहको १ जना र आधारभूत तहको थप २ जना दबन्धी थप गरेर जनतालाई माध्यमिक विद्यालयमा विकास गराएको नगर प्रमुख रमेश कार्कीले बताए । नगर प्रमुख कार्कीले भन्ने, 'श्रीलङ्का टप्पुको जनतालाई मावि बनाउने योजना बनाएको थिए । जस अनुसार यसै शैक्षिक सत्रदेखि कक्षा नौ को पठनपाठन सुरु गरिएको छ । कक्षा कोठा, फनिचरका संरचना लगायतका आवश्यक कुराको व्यवस्थापन नगरपालिकाले गरेको छ ।'
२०४७ सालमा स्थापना भएको विद्यालयमा उक्त जनता माविमा १ जना बाल विकास शिक्षिका, १ जना कर्मचारी र १० जना शिक्षक रहेका छन् । विद्यालयमा हाल २ सय ७० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक रामकुमार मण्डलले बताए । गएको शैक्षिक सत्रमा कक्षा आठमा उत्तीर्ण भएका ३२ जना विद्यार्थीहरू कक्षा नौ मा अध्ययनरत रहेको उनले बताए । विद्यालयको भौतिक तथा शैक्षिक स्तरको विकास गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने योजना रहेको प्रधानाध्यापक रामकुमार मण्डलले बताए ।
टप्पुका विद्यालय स्थापना भएको करिब ३५ वर्ष पछि माध्यमिक तहको पढाइ भए ठुलो विकासको सुरुवात भएको पूर्व जनप्रतिनिधि बद्री लिम्बु बताउँछन् । नगरपालिकाले कक्षा नौ को पढाइ सुरु गर्दा यहाँका विद्यार्थीहरूलाई ठुलो राहत मिल्ने उनको भनाई छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        















 
         
        

















































 
         
         
        