धरान : विराटनगर महानगरपालिकामा कोरोना सङ्क्रमण समुदाय स्तरमै फैलिएकोले विराटनगर महानगरपालिकामा उच्च सतर्कता अपनाउन भनिएको छ ।

विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार अहिले सम्म विराटनगर महानगरपालिका भित्र मात्रै ६७ जना कोरोना सङ्क्रमित भेटिएकोमा २३ जना स्थानीय ट्राभल हिस्ट्री नभएको रहेका छन् । विराटनगर महानगरपालिकामा रहेका ५ वटा क्वारेनटाइनमा बस्नेहरू र बाहिरबाट आएको ट्राभल हिस्ट्री नभएका २३ जनामा पनि कोरोना सङ्क्रमण देखिनु समुदायमा कोरोना सङ्क्रमण भएको पुष्टि हुनु भएको उनले बताए ।

हिजो विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको अध्यक्षतामा सामाजिक विकास मन्त्रालयका सचिव, मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरू, उद्योग व्यवसायी, सम्बन्धित सरोकारवाला निकायहरू सहितको उपस्थितिमा नगर स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बैठक बसी विभिन्न निर्णयहरू गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण समुदाय स्तरमा फैलिएको हुँदा नगर क्षेत्रमा अर्को व्यवस्था नभए सम्मका लागि कुनै पनि सभा, सम्मेलन, गोष्ठी जस्ता कार्यक्रममा रोक लगाउने लगायतको निर्णयहरू गरी उच्च सतर्कता अपनाउन महानगरबासीहरुलाई अनुरोध गरिएको महाशाखा प्रमुख कार्कीले बताए ।

विराटनगरमा हिजो गरिएको निर्णयलाई कार्यान्वयनमा ल्याउनका लागि आज महानगर क्षेत्रका विभिन्न स्थानमा बजार अनुगमन गरिएको र मास्क नलगाई हिँड्नेलाई पहिलो पटक मास्क दिएर सम्झाई बुझाई गरिएको र अव फेरी मास्क विना बजारमा लापर्वही तरिकाले हिँडडुल गर्नेलाई कारबाही गर्ने पनि महानगरपालिकाले निर्णय गरेको छ ।

विराटनगर महानगरपालिकामा विराटनगर नर्सिङ होमका १ जना डाक्टर, कोसी अस्पतालका १ जना डाक्टर विराट नर्सिङ होमका ४ जना नर्स गरी ६ जना स्वास्थ्यकर्मीहरूमा समेत कोरोना सङ्क्रमण भएकोले विराटनगर कोरोनाको अति नै उच्च जोखिममा पुगेको स्वास्थ्य महाशाखाको ठम्याई रहेको छ ।

स्वास्थ्यकर्मीहरूमा पनि कोरोना सङ्क्रमण भएको पाइए पछि विराटनगरका केही स्वास्थ्य संस्थाहरूमा सिल गरिएको छ । विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार विराटनगर कोरोना सङ्क्रमणको उच्च जोखिममा पुगेकोले जतिखेर जति बेला पनि लकडाउन हुन सक्ने छ । विराटनगरमा लकडाउन भयो भने सरकारले घोषणा गरेको भन्दा कडा लकडाउन हुनसक्ने प्रमुख कार्कीले कपुरी न्युजलाई बताए ।

विराटनगरमा प्रहरी, डाक्टर, नर्स र समुदायका ट्राभल हिस्ट्री नभएकाहरूमा पनि कोरोना सङ्क्रमण भएपछि कोरोनाको जोखिम उच्च विन्दुमा पुगेको बताइएको छ ।

BRT-Suchana