धरान : धरान ८ तीनकुनेको धरान औद्योगिक क्षेत्र भित्र रहेको प्रीति भल्भ एन्ड फिटिङ्ग्स इन्डस्ट्री प्रा.ली.लाई सिल गरिएको छ ।

सो उद्योगमा कार्यरत धरान १३ का एक युवामा कोरोना पुष्टि भएसँगै उनीसङै काम गर्नेहरूको कनट्र्याक्ट ट्रेसिङको क्रममा पिसिआर परीक्षण गर्दा थप ५ जनामा कोरोना सङ्क्रमण भएको पाइएपछि सो उद्योगमा अहिले साँझ सिल गरिएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिएका छन् ।

धरान उपमहानगरपालिका र इलाका प्रहरी कार्यालय बिच भएको छलफल पछि आफू सो उद्योग पुगेर सिल गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।

उद्योगमा कार्यरत कर्मचारीहरू भित्रको भित्रै र बाहिर रहेकालाई बाहिरै बस्न भन्दै सिल गरिएको र सो उद्योगका अरू कर्मचारीहरूको पनि पसिआर परीक्षण गर्ने र रिपोर्ट नआउन्जेल सम्मका लागि सिल गरिएको बताइएको छ । सो उद्योगमा कार्यरत कर्मचारी र कर्मचारीका परिवारमा कोरोना देखिएपछि थप कोरोना सङ्क्रमण हुन नदिन सिल गरिएको हो ।