धरान : धरानमा हाहाकार फैलिरहेको खानेपानी समस्या भूमिगत श्रोतबाट पानीको आपूर्ति थपेर न्यूनीकरण गर्न कोशी प्रदेश सरकारले 'डिप बोरिङ' को काम सुरु गरेको छ ।

तीनकुने दक्षिण चारकोशे जङ्गलमा शुक्रवार देखि डिप बोरिङका लागि काम सुरु भएको हो ।

प्रदेश सरकार खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय विराटनगरबाट डिप बोरिङको लागि बजेटको पहल गर्दै आएका प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले आफू बोरिङ स्थलमै भएको बताउँदै भने ‘आज देखी काम सुरु भएको छ ।’

उनका अनुसार उक्त डिप बोरिङबाट आउँदो वर्षको सुख्खा मौसममा पानी उत्पादन भई वितरण हुन्छ । प्रदेश सरकारको बजेटमा ३ वटा डिप बोरिङ वेल तयार गरिने उनले बताए ।

डिप बोरिङका लागि कोशी प्रदेश सरकारबाट ४ करोड रुपैयाँ विनियोजन भएको छ ।

उक्त बजेटबाट आधा ‘डिप बोरिङ’ गर्न र आधा खानेपानी संरचना जडानमा खर्च गरिनेछ । ‘डिप बोरिङ’ को ठेक्का खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरीले लगाएको हो ।

खानेपानी तथा सिँचाइ कार्यालय इटहरीका प्रमुख सयन कुमार श्रेष्ठका अनुसार निर्माण भइरहेको डिप बोरिङ १ करोड ५१ लाख ४५ हजार ९०९ रुपैयाँमा ठेक्का लागेको हो ।

चितवनको श्रीमन् ड्रिलिङ्ग एण्ड कन्स्ट्रक्सन प्रालिले ठेक्का पारेको उनले बताए । श्रेष्ठका अनुसार तीन वटा डिप बोरिङको काम असार मसान्त सम्ममा सकिने छ ।

तिन वटै डिप बोरिङबाट पानी निकाल्ने काम सकिएपछि खानेपानीको संरचना जोड्ने काम सुरु हुनेछ । उक्त कार्यको लागि बहुवर्षे योजनाको प्रस्ताव पनि गरिएको उनले बताए ।

प्रमुख श्रेष्ठले भने ‘अहिले २ करोड बजेट विनियोजन भएको छ, लागत स्टमेट साढे ५ करोडको छ ।’

Khanepani-Project-KapuriNew