मेरी आमा

  • भदौ २७, २०७७
  • ३०३ पटक पढिएको
  • विरही काइँला
alt फक्ताङलुङ

जब कसैले रामायण पाठ गरेको सुन्छु । म मेरी आमालाई सम्झन्छु । आमालाई सम्झेपछि रामायणको सम्झना आउँछ । मेरी आमा धार्मिक स्वभावकी थिइन । मलाई सम्झना भएसम्म सुत्न अघि आमाले रामायण पाठ नगरेकी कुनै साँझ थिएन । बेलुकी घरको धन्दा पात सकेर ओछ्यानमा पसेपछि आमा रामायण पढ्थिन म छेउमा सुन्दै निदाउँथे । आमाले महाभारत, कृष्णचरित्र, सुख सागर आदि धार्मिक पुस्तकहरू पनि पाठ गर्थिन । आमालाई मन परेको पुस्तक चाहिँ रामायण नै हो । आमाले पाठ गरेकी रामायणका श्लोकहरू आजसम्म मलाई कण्ठ छ – एक दिन नारद सत्य लोक पुगी गया लोकको गरूँ हित भनी ।। ब्रह्मा तांहि थिया परया चरणमा खुसी गराया पनि ।।… आदि ।

उस बेला गाउँका प्रायः मानिसहरू औँठा छाप थिए । पढ्न लेख्न जान्दैनन् थिए । उनीहरूका लागि कालो अक्षर भैँसी बराबर थियो । तर मेरी आमाले कालो अक्षर पढ्थिन । सुन्दर अक्षरमा लेख्थिन । समाजमा एक शिक्षित नारीका रूपमा चिनिन्थिन ।

एक मानु खान लाउन पुर्‍याउने अम्लाबुङ गाउँका टिकामधोज आङदेम्बेको माइला छोरा नरवीर आङदेम्बे अनि श्रीमती फूलमाया तुम्बाहाम्फेका सन्तानमा तीन छोराहरू हर्कबहादुर, टङ्कप्रसाद र डिल्लीप्रसाद अनि एउटी छोरी पध्माकन्या (सन्१९१६) थिइन ।

याक्थुम्बा (लिम्बु) समाजको विशिष्ट पहिचान हो धान नाच । याक्थुम्बाहरू धान नाच्छन् । धान नाचेर एक-अर्कामा चिनजान गर्छन् । माया बसाउँछन् र आखिरमा विवाह गर्छन् । मेरी आमा पध्माकन्याले पनि धान नाचेर प्रेम विवाह गरिन हर्कबोली नेम्बाङको कान्छो छोरा नयन्द्रराज नेम्बाङसित ।

शिक्षाको महत्त्व राम्ररी बुझेकी मेरी आमा र बाबुले हामीलाई पढाउन शिक्षकहरू घरमा राखेका थिए । मलाई भने दार्जिलिङ जिल्लाको मिरिक महकुमा अन्तर्गत सौरेनी डिपो गाउँका स्व. बी. बी. राईको मात्र सम्झना छ । उनी पुड्को हुनाले दाजुहरूले पुड्के सर भन्दथे । पढाउनुको साथसाथै पाङ्ग्रो खेल्न पनि सिकाए पुड्के सरले दाजुहरूलाई ।

आमा-बाबुको इच्छा अनुसार हामी सहर(दार्जिलिङ)-मा आएर पढ्न थाल्यौँ । त्यस समय नाम चलेका मन्तुलाल छेत्रीको होटेलमा बस्थ्यौँ । आमा भन्थिन-“ शिक्षा भन्दा ठूलो सम्पत्ति अर्को छैन ।” तर हामीले आमाका यी उपदेशलाई पालन गर्न सकेनौँ । दुई भाइ दाजुहरू पढाइ त्यागेर प्रजातन्त्र पुनर्स्थापनाको लागि आन्दोलनमा होमिए । म पनि पढाइ छोडेर बरालिँदा आमाको मनशक्तिमा आघात पुग्यो र सारै दुःखी भइन । फेरी पढ्ने कोसिस गरे तर सकिन ।

सन् १९७३ मा बाबु नयन्द्रराज नेम्बाङले गाउँमा आमाको नाउँमा प्राथमिक पाठशाला खडा गरे । शिक्षा भन्दा ठुलो सम्पत्ति अर्को छैन भन्ने मेरी आमाको सन्देशलाई बाबुले सम्मान गरे । शिक्षाको महत्त्व मेरी आमा-बाबु दुवैले बुझेका थिए ।

मुन्धुममा उच्चरित हुने तीन अक्षरीय “ता गे रा” स्त्रीतत्व तथा चार अक्षरीय “नी ङ वा फु” पुरूषतत्व हुन । यी दुई तत्वको संयोजनले निर्माण भएको सात अक्षरीय “ता गे रा नी ङ वा फु” तत्वको गुण देहमा रहिन्जेल सम्मलाई जीवनकाल मानिएको छ । अनि जुन समय उक्त सात अक्षरीय तत्वको गुण देहमा समाप्त हुन्छ, त्यसलाई मृत्युकाल मानिएको छ ।

१० नोभेम्बर १९८४ कोदिन मेरी आमा पध्माकन्याका देहमा पनि सात अक्षरीय तत्वको गुण रहँदैन । मेरी आमाले यो संसारबाट बिदा लिइन सदासदाको लागि । म आमा विनाको टुहुरो बने ।

२३ डिसेम्बर १९८४ को दिन सुधाइँमा भैँसी काटेर इष्टमित्रहरूलाई भोज खुवाएर साँझपख मेरी आमाको ‘सामसामा’(आत्मालाई पुर्खाको वस्थलमा पुराउने) कार्य गाउँकै चेम्जोंग बुङ्चे साम्बाले ‘तङसिङ’ अनुष्ठानद्वारा गरे।

Samasama
सामसामा तङसिङ

चेम्जोंग बुङ्चे साम्बाले –“ सुथेबा थोमु रो ।। ताक्थेबा थोमु रो ।। आप्ना लिङसे रो ।। फक्तुङ लिङसे रो ।।”……भन्दै मुन्धुम गाए र मेरी आमाको “साम” (आत्मा)-लाई पुर्खाको अवस्थलमा पुर्याइ पुर्खाको साम(आत्मा)-सँग विलय गराइदिए ।

मुन्धुममा स्वर्ग- नर्कको कल्पना गरिएको छैन र सहज मृत्यु हुनेको आत्मालाई आफ्ना पूर्वजको आत्मासँग विलीन गराइन्छ । जसको अकाल मृत्यु भएको छ, उसको आत्मा पुर्खाको आत्मासँग विलीन हुँदैन, यही भड्की रहन्छ । त्यसता आत्माले मानिसलाई दुःख कष्ट नदिउन् भनी भगाउने, बाटो छेक्ने काम येबा, येमाले गर्दछन् ।

याक्थुम्बा (लिम्बु) हरू आफ्ना पुर्खाको आदि स्थल फक्ताङलुङ (कुम्भकर्ण) हो भनी विश्वास गर्दछन् ।
मलाई जब मेरी आमाको याद आउँछ म फक्ताङलुङ (कुम्भकर्ण हिमालय) तर्फ फर्केर हेर्छु । राम्ररी ठिम्याउने गर्छु, कहीँ मेरी आमा फक्ताङलुङ (कुम्भकर्ण)-को रूपमा उभि रहेकी छैन ?

हाल अमेरिका

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved