केन्द्रीय तथ्याङ्क विभागले विसं २०६८ मा गरेको ११ औँ राष्ट्रिय जनगणनाअनुसार नेपालमा १ सय २५ जातजाति र १ सय २३ भाषा भाषी रहेका छन् । यसरी हेर्दा बुझ्नेहरुका लागि वास्तवमै नेपाल विविध जातजाति र भाषाभाषीहरुको साझा फूलबारी हो । भलै राज्यले अहिलेसम्म पनि त्यहीअनुसार नीति निर्माण नगर्नु अर्कै कुरो हो । जे होस्, विसं २०६८ को ११ औँ राष्ट्रिय जनगणनामा उल्लेख भएका १ सय २५ जातजाति र १ सय २३ भाषा भाषीमध्ये एक हो -‘कुलुङ जाति ।’ त्यसअघि कुलुङ जातिलाई जबरजस्ती राई ! जातिमा गाभिएको अवस्था थियो ।

त्यसो त अझै पनि नेपाल सरकारको मातहतमा रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा भने कुलुङ जातिलाई छुट्टै जातिका रूपमा सूचीकृत गरिएको छैन । अझै पनि कुलुङहरुले आफ्नो परिचय कुलुङ भनी दिँदा ‘कुलुङ भनेको त ‘राई !’ होइन र ? भनी जवाफ दिनेहरू धेरै भेटिन्छन् । अनि हामीले पनि -‘कुलुङ नभएर राई ! भएको भए त कुलुङको सट्टा राई ! भनी हाल्थ्यौँ नि, होइन र ?’ भनी जवाफ दिने गरेका छौँ । यस्तो भ्रम पर्नेमा अरू त अरू नै भई हाले, धेरै जसो नेपालका भाषाशास्त्री वा भनौँ भाषाविद् !, समाजशसास्त्री, मानवशास्त्री, संस्कृतिविद् !, मुन्धुमविद् (कुलुङ जातिले मुन्धुमलाई ‘रीदूम’ भन्छन् ), आदिवासी जनजाति मूलका नेता हौँ ! भन्ने मान्छेहरूले नै पनि कुलुङलाई कुलुङ भनी स्विकार्नुको सट्टा कुलुङ भनेको त राई नै होइन र ? भन्न छाडेका छैनन् । एक जाति ‘राई !’ भाषाचाहिँ २८ वटा हुन्छ ! भनेर बोल्न/लेख्न छाडेका छैनन् ।

तर, कुलुङ भनेको पनि बाहुन जात भने जस्तै कुलुङ जाति हो । किनभने, बाहुनभित्र विभिन्न थरहरू भए जस्तै कुलुङभित्र पनि विभिन्न थर/उपथरहरू रहेका छन् । जस्तै थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, सैमालुङ, रोतेम्बु, सुर्बा, रेम्निसिङ, सैमालुङ पिदिसै, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, बार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, येइसा लगायत ३८० वटा भन्दा बढी थररउपथरहरू छन् ।

जस्तै थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, सैमालुङ, पिदिसै, सूर्वा, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, बार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, ङोपोचो, रोतेम्बु, सुर्बा, रेम्निसिङ, सैमालुङ आदि थर/उपथरहरु रहेको छ । त्यही भएर कुलुङ-कुलुङबीचमै विवाह हुन्छ ।

म कुलुङभित्रको लोवात्ती हुँ। तर, ‘राई’ के हो? कुलुङ के हो/को हो ? भन्ने बारेमा जनस्तरमा व्यापक रूपमा वास्तविक कुरा बाहिर नआएकोले गर्दा पनि यस्तो भएको हो । तर, पनि हाल धेरै हदसम्म राई जाति नभएर विगतमा, खास गरी नेपालको भौगोलिक एकीकरणपछि शासकहरूले दिएको पगरी/पदवी मात्रै हो भन्ने बारेमा सर्वसाधारण मान्छेहरूमाझ पनि प्रस्ट हुँदै गएको छ ।

जे होस्, यो लेखमा कुलुङ को हुन् ? कुलुङ जातिको उत्पत्ति थलो कहाँ हो?  उनीहरूको ऐतिहासिक थलो भूमि छ/छैन ? कुलुङहरु अन्य जाति सरह स्वतन्त्र जातीय अस्तित्व भएको छुट्टै जाति हो-होइन ?  कुलुङको जनसङ्ख्या कति छ? कुलुङ मातृभाषा कति छन् ? आदि-इत्यादिबारे छोटकरीमा जानकारी दिने प्रयास गरिएको छ । कुलुङ जातिको मूल थलो सोलुखुम्बु जिल्लाको उत्तर-पूर्वी क्षेत्रको बुङ, छेस्खाम, गुदेल, सोताङ, पावै आदि गाविसका विभिन्न स्थानहरु (हाल महाकुलुङ र सोताङ गाउँपालिका) हुन् भने यी ठाउँलाई कुलुङहरु आफ्नो मातृभाषामा “मा कूलू” भन्छन् । त्यस्तै कतिपय विदेशी लेखक तथा अन्वेषकहरु र नेपालका अन्य जातिले यो क्षेत्रलाई ‘महाकुलुङ’ (ग्रेटर कुलुङ) भनेर चिन्दछन् ।

कुलुङको बाक्लो बसोवास सोलुखुम्बुको महाकुलुङ क्षेत्रबाहेक संखुवासभा, भोजपुर, सुनसरी, ईलाम, झापा, सुनसरी, मोरङ र भारतको दार्जिलिङ, सिक्किम लगायतका ठाउँहरूमा छ भने नेपालको तेहथुम, चितवन, धनकुटा, ताप्लेजुङ, पाँचथर, उदयपुर, सिराहा, कास्की, खोटाङ, काठमाडौँ, ललितपुर, भक्तपुर, मुस्ताङ, धनुषा लगायत लगभग २३-२४ जिल्लामा रहेको छ ।जहाँका कुलुङ भए पनि कूलपितृ आदिमा कुलुङ जातिका मापरनोक्छोले कुलु रिङमै रिदूम (अरुले मुन्धुम भन्छन्) फलाक्छन् । त्यस्तै २०५८-०५९ (यले दोङ ५०६१) मा चन्द्रसिंह कुलुङ, टंक सोम्फोरु, प्रकाश लोवात्ती कुलुङ (यो पङ्क्तिकारको त्यो बेलाको लेख्ने नाम), पत्तिबहादुर सोम्फोरु, मेखबहादुर कुलुङ, सूर्यबहादुर कुलुङ, इन्दिरा कुलुङ, पाण्डु राजित्ति लगायतको सक्रियतामा भाषाविद्हरु अमृत योन्जन तामाङ र डा. माधव पोखरेलको सहयोगमा कुलुङ भाषाको स्वर वर्ण र व्यञ्जन वर्ण पहिचान गरिएको थियो ।

त्यसअनुसार कुलुङ भाषामा २१ वटा व्यञ्जन वर्ण र १२ वटा स्वर वर्ण पहिचान गरिएको छ । कुलुङ भाषामा दीर्घ नभएकोले लिपिबद्ध गरिदा दीर्घलाई हस्व मान्ने र दीर्घ जनाउँदा विसर्ग (:) दिने वा : चिन्ह प्रयोग गर्ने व्यवस्था गरिएको छ ।

कुलुङ जातिको अरू जातिको भन्दा भिन्न प्रकारको संस्कार/संस्कृतिहरू रहेको छ । जन्मदेखि मृत्युसम्ममा आफ्नै जातिका पर्खाले मुख्य भूमिका खेल्छन् । जहाँसुकैका कुलुङले पनि मृत्युपछि मृत्यु संस्कार गर्दा मृतकको आत्मालाई महाकुलुङको ‘पोम्लालुङ’ भन्ने ठाऊँमा पठाउनुपर्छ । कुलुङ समुदायमा चलेको विश्वास र मान्यता अनुसार यो (पोम्लालुङ) नै कुलुङ जातिको लागि ‘स्वर्ग’ हो । मृतकलाई यसरी ‘स्वर्ग’ अर्थात् पोम्लालुङ पठाउँदा पुग्नुअघि मृतकलाई पानी पिउन दिने ठाउँ छ । यो ठाउँलाई ‘पोम्ला काउ’ भनिन्छ । यो ‘पोम्ला काउ’ भन्ने ठाउँ सोलुखुम्बु जिल्लाको बुङ र छेस्खाम गासिमा पर्छ । यसरी मृत्युपछि आफन्तलाई पठाइने कुलुङहरुको स्वर्ग अर्थात् ‘पोम्लालुङ’ हालको सोलुखुम्बु जिल्लाको गुदेल गाविसमा पर्छ । जुन स्थललाई कुलुङ जातिले पवित्र स्थल मान्ने गर्छन् ।

विवाहमा चेली पक्षकाले ज्वाइँ पक्षलाई सुक्तुलू (चुल्हा) मा दी (जाँड) र हाङ्मुवा (रक्सी) चढाउँदै वागदत्ता दिएर सम्पूर्ण रूपमा सुम्पने गरिन्छ । सामान्यतया कुलुङहरु २ पटक विवाह गर्दछन् । पहिलो बिहेसम्म चेलीको मृत्यु भइहालेमा माइतीले नै काजक्रिया गर्नुपर्छ । दोस्रो विवाह छिन्ती विवाह हो जसलाई ‘दाप्लो कुइम’ भनिन्छ ।

त्यस्तै कुलुङ जातिको आफ्नै जातीय पहिरन र गरगहनाहरू छन् भने आफ्नै मौलिक बाजागाजाहरू पनि छ । कुलुङ जातिमा जन्म संस्कार गर्दा बालबालिका जन्मेपछि जन्म दिने आमा (सुत्केरी) आफैले नाइटो काट्ने, भांग्रे सिस्नोको धागोले बाँध्ने, बच्चालाई भांग्राकै कपडाले बेरेर राख्ने, स्थान र समय अनुसार ५/७ दिनमा कटुस, उत्तिसको काँचो बोक्रा र हरियो पात मिसाएर कुटेको धुलोले बच्चा र सुत्केरीलाई नुहाई दिने गरिन्छ । र, यसरी नुहाएपछि चोखो भएको मानिन्छ ।

मृत्यु संस्कारमा भने अकालमा मरेकाहरुलाई खाडल खनेर, घरभन्दा टाढा जंगल, ओढार आदिमा काँडा बिच्छ्याएर, लासलाई नाङ्गै घोप्टो पारेर राखिन्छ र, फेरि लासमाथि काँडा, सिस्नो आदिले छोपेर पुरिन्छ । यस्तो मृत्युलाई कुलुङहरु “हिल्सी” भन्छन् ।

स्वाभाविक रूपमा मृत्यु भएकाहरुलाई भने घुर्यान वा घर नजिकैको बारीमा गाडिन्छ । असलियतमा कुलुङ जातिमा मृत्युपछि मरेर जानेको नाममा सेतो लुगा लगाउने, नुन बार्ने, कांसा–तामा, मासु-मंस बार्ने गर्दैनन् । अझ, मूलथलोका कुलुङहरु मान्छे मरेकै दिन घरमा जे छ, त्यसैले चोखिन्छन् । तर, मूलथलो छाडेका कुलुङहरु भने अन्य जातजातिको देखासिकी र, त्यसो नगर्दा बहिस्कृत हुनु पर्ने र हेलोहोचो हुनुपर्ने डरले नुन नबारे पनि ३-४ दिन बार्ने, कपाल काट्ने, बर्खी गर्ने, राँगा, सुँगुर मार्ने (स्मरण रहोस्, कुलुङ जातिमा मृतकलाई चढाउँदारबिदा दिँदा सिङ भएको जनावर चल्दैन ।) गर्छन् ।

कुलुङ जातिको चाडपर्वहरूमध्ये कुर्कुच्चा, तोस, देदाम, नागी, मोबो वा साप्लोपा, साइपोतरसाइ पोको आदि प्रमुख हुन् भने साह्रै अनिकाल पर्यो, दुःख, बिमार भयो भने मात्रै ‘दरदाम’ गर्ने प्रचलन छ । तर यो साह्रै खर्चिलो हुन्छ । जोडी सुँगुर, असङ्ख्य कुखुरा, दी र हाङ्मुवा (जाँड रक्सी) आदि इत्यादि चाहिन्छ भने उक्त कार्य गर्दा नोक्छोले सुँगुरलाई ढाडमा तरबारले हानेर मार्नुपर्छ ।

त्यसैले अब हामी कुलुङ जाति आगामी जनगणना २०७८ मा जात वा जाति के हो रु भन्नेमा जातिमा कुलुङ र थर के हो, कुन हो ? भन्ने महलमा गणकलाई लोवात्ती, देउराम, थिम्रा, रुखुपो, ङोपोचो, तोङेर्बु, होनित्ति, बुक्खो, सोम्फोरु, कुबीत्ती, लाम्लछा, ताम्बुछा, तोर्ङो, सैमालुङ, पिदिसै, सूर्वा, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, बार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, ङोपोचो, रोतेम्बु, सुर्बा, रेम्निसिङ, सैमालुङ आदि लेख्न लगाउनु पर्छ । साथै गणकले आफुले भनेअनुसार लेख्यो कि लेखेन ? भनी रुजू गर्नु पर्छ र आफैले फाराम हेर्नु पर्छ ।

त्यस्तै धर्मको महलमा किरात/रीदूम वा प्रकृति पूजक लेख्न लगाउनु पर्छ । गणकले आफुले भनेअनुसार लेख्यो कि लेखेन ? भनी यहाँ पनि रुजू गर्नु पर्छ र आफैले फाराम हेर्नु पर्छ । अनि भाषाको महलमा भने यस पटक पुर्खाको भाषा र मातृभाषा भन्ने महल आउँछ । सो महलमाचाहिँ पुर्खाको भाषामा पनि ‘कुलुङ’ र मातृभाषामा पनि गणकलाई ‘कुलुङ’ नै लेख्न लगाउनु पर्छ । किनभने, ‘कुलुङ भाषा’ नै छुट्यो भने हाम्रो (‘कुलुङ’) को भाषा नै नआउने वा कम आउने सम्भावना हुन्छ । त्यस्तै दोस्रो वा छिमेकी भाषामा ठाउँ अनुसार लिम्बु, बान्तवा, खालिङ, मेवाहाङ, याम्फु, धिमाल, मगर, लाप्चा, थारु आदि लेख्नु पर्छ ।

ninamkirat123@gmail.com