धरान : नेपालीहरूको महान् पर्व बडादसैँ तथा तिहार नजिकिँदै गर्दा जिल्ला प्रहरी कार्यालय सुनसरीले सुरक्षा व्यवस्था चुस्त राख्नका लागि विशेष सुरक्षा योजना बनाएको छ ।

यो समयमा दुर्घटना, चोरी, लुटपाट लगायतका आपराधिक घटनाको जोखिम बढी हुने हुनाले सुनसरी प्रहरीले पूर्व तयारीका साथ विशेष योजनाका साथ सुरक्षा तयारी गरेको छ । विशेष सुरक्षा नीति तयार गरी जनशक्तिहरू परिचालन गरेको उक्त कार्यालयले जनाएको छ ।

सुनसरीका प्रहरी प्रमुख कमल थापाले भने 'तपाईँहरू घरभित्र सुरक्षित रहनु,हामी २४ घण्टा खट्न तयार छौ, जहाँ हुनुहुन्छ त्यही बसेर उमंग हर्षित भएर चाडपर्व मनाउनु होला, अनावश्यक भिडभाड नगर्नु /नगराउनु होला।'  

‘यस वर्ष कोभिड-१९ का कोरोनाका कारण धेरै बेरोजगार भएका छन्, धेरैको व्यवसाय पनि राम्रोसँग चलेको छैन, चाडबाडमा आफ्नो परिवारलाई मिठो खाना र राम्रो लगाउन दिन सबैको मन हुन्छ, त्यसले गर्दा चोरी, लुटपाट हुने सम्भावना बढी हुने हाम्रो प्रहरी आँकलन हो ,’ थापाले भने ।

रोजगारी गुमाएको, आम्दानी घटेको कारण चोरी बढ्न सक्ने भएकाले सोही अनुसार बैङ्क तथा वित्तीय संस्था र सुन पसलहरूमा बढी लुटपाट हुने सम्भावना भएकाले सुरक्षागार्डसँग समन्वय गरेर सुरक्षालाई प्रभावकारी बनाइएको, खसी, बोका, च्याङ्ग्रा भित्रिने नाकामा पनि प्रहरी परिचालन गरिएको, यस वर्ष  चाडपर्व भन्दा बढी चोरी हुने सम्भावनाहरू औँल्याउँदै सो कार्यहरू रोक्नका लागि चौतर्फी सुरक्षा सचेतता र निगरानी सुरु गरिएको उनले बताए ।

सवारी साधनमा हुने ओभरलोड, भाडामा हुने मनपरी रोक्न जिल्लाको चार स्थानमा चेकिङ पोस्ट राखिएको, २४ सै घण्टा ड्युटीमा खटिएको र घटना हुन सक्ने सम्भावित ठाउँहरूमा बढी निगरानी राखेको तथा चोरी हुने सम्भावित ठाउँलाई बढी केन्द्रित गरेका छौँ ।’ थापाले भने 

अहिले बजार क्षेत्रमा जुवातास बढी खेल्ने गरेको गुनासो आएकाले नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालयले सादा पोसाकमा प्रहरी परिचालन गरिएको उनले जानकारी दिए।

चाडबाडको समयमा हुने आपराधिक क्रियाकलापहरूलाई निरुत्साहित पार्न प्रहरी उपरीक्षक १, प्रहरी नायब उपरीक्षक ३ र प्रहरी निरीक्षक ११ जना गरी जिल्लामा १२ सय प्रहरी परिचालन गरिएको जनाएको छ । प्रहरीले मोबाइल गस्ती, पिकेट, चेकिङ, यात्रु सहायता कक्ष, सादा पोसाकमा प्रहरी परिचालन, धार्मिक मठमन्दिरहरूको सुरक्षामा रिजर्भ टोली, सचेतना कार्यक्रम समेत गरिने प्रहरीले जनाएको छ ।

जिल्लाको चाडपर्व सुरक्षा योजना अनुसार चार पाङग्रे सवारी साधनमा आवश्यक जनशक्ति र आवश्यक समान सहित मोबाइल १७ वटा, क्युआरटी टोली मोटरसाइकलमा ७० वटा, साइकल गस्ती ६ वटा र पैदल गस्ती १२ वटा रहेका छन्।

त्यसैगरी जिल्लाको मुख्य बजार, चौक, भित्री एरिया लगायत समग्र जिल्लालाई सुरक्षित बनाउने क्रममा ९५ वटा पिकेटको व्यवस्था गरिएको छ ।

राजमार्ग तथा भित्री बाटोमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्लाभरिमा ३० स्थानमा चेकिङको व्यवस्था गरिएको छ भने महेन्द्र राजमार्ग, कोसी राजमार्गमा ट्राफिक सहितको टोलीको व्यवस्था गरिएको छ । धार्मिक स्थलको सुरक्षाका लागि ७५ जनाको १५ वटा टोली परिचालन भएको छ।

चाडपर्वमा हुनसक्ने होहल्ला, हुलहुज्जत र लफडा नियन्त्रणका लागि पनि छुट्टै फोर्स परिचालन भएको छ।  सामान हराएका, टिकट नपाएका, पकेट मारिएका, बढी भाडा लिएका, टिकट काटेर पनि सिट नपाएका, अलपत्र परेका यात्रुहरूलाई सहयोग गरिने उनले बताए ।