धरान : नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्ला नगरको तर्फबाट केन्द्रीय सदस्यमा धरानका व्यवसायी अशोक ताम्राकारले आज उम्मेदवारी दिएका छन् ।

उनलाई सुनसरी उद्योग वाणिज्य सङ्घले जिल्ला र नगर उद्योग वाणिज्य संघकोतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवार बनाउने निर्णय गरेको हो । सुनसरी उद्योग वाणिज्य सङ्घका पुर्वअध्यक्ष समेत रहेका ताम्राकार धरान २०३४ सालदेखि व्यापार, व्यवसायमा सक्रिय छन् । उनी सङ्घको साधारण सदस्य, कार्यकारिणी सदस्य, प्रथम उपाध्यक्ष हुँदै २०६४ देखि ०६६ सालसम्म एक कार्यकाल अध्यक्ष भएका थिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ वार्षिक साधारण सभा यही मङ्सिर ११,१२ र १३ गते काठमाण्डौमा हुदैछ । उक्त साधारणसभाले वरिष्ठ उपाध्यक्ष १ जना, जिल्ला नगर उपाध्यक्ष १ जना, बस्तुगतबाट उपाध्यक्ष १ जना र जिल्ला नगरबाट केन्द्रीय सदस्य १८ जना सँगै बस्तुगत र एसोसिएटबाट केन्द्रीय सदस्य छनौट हुनेछन् ।

अध्यक्ष भने वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । अहिले सम्म जिल्ला नगरबाट केन्द्रीय सदस्यको १८ जनाको कोटामा २२ जनाको उम्मेदवारी परेको काठमाण्डौमा रहेका केन्द्रीय सदस्यका उम्मेदवार अशोक ताम्राकारले बताए ।

सुनसरीबाट केन्द्रीय सदस्यमा उम्मेदवार घोषणा गरिएका ताम्राकारलाई जिताउन निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ । सुनसरी उवासंघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ संयोजक रहेको समितिले प्रचारप्रसार र लबिङ गरिरहेको बताइएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ वार्षिक साधारण सभाका लागि उम्मेदवारी दर्ता गराउन पूर्वका व्यवसायीहरू अहिले काठमाण्डौमा पुगेका छन् ।

५४ औं साधरण सभा काठमाण्डौको तीन स्थान राष्ट्रिय सभा गृह, नेपाल प्राज्ञ प्रतिष्ठान र नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय कार्यालयमा हुने बताईएको छ ।