धरान : हिजो कार्तिक शुक्ल षष्ठीमा साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। आज छठको चौथो दिन-कार्तिक शुक्ल सप्तमी बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन भएको छ।

आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिने भएकाले आजको दिनलाई "बहनीया अर्घ्य " भनिन्छ । सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो । हिजो साँझ सूर्यलाई अर्घ दिएपछि रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले आज बिहान उदाउँदो सूर्यको पूजाआजा गर्दछन्।

बिहानको सूर्यको न्यानो किरणसँगै व्रतालुहरूले अञ्जुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठेकुवा,भुसुवा फलफूल र मिठाईजस्ता प्रसादहरू अर्पण गर्दछन्। त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी व्रत भङ्ग गर्दछन्।

छठ माताको पूजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्म रोग छिटो निको हुने पनि विश्वास गरिन्छ । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्दछन् ।

सूर्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने र सूर्यको किरणमा विभिन्न चर्म रोग निवारण हुने तथ्य खोज भएकाले यो व्रत वैज्ञानिक आधार अनुसार पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ। पर्वको चौथो दिन आज बिहान उषाकालमा पारन गर्न व्रत लिनेहरू पुनः पोखरी, जलाशय किनारमा पुगी आज साँझ गरेको क्रम दोहोर्‍याइ प्रातःकालीन सूर्यलाई अर्घ्य दिई पर्वको समापन गर्दछन् ।

विगतका वर्षहरूमा छठ पर्वका लागि विभिन्न नदी किनारहरूलाई सजाई सामूहिक रूपामा छठ मनाए पनि यसपालि अधिकांश व्रतालुहरूले घरमै अथवा घरनजिकको सहज स्थलमा भिडभाड नहुने गरी यो पर्व मनाएका छन् ।