धरान : बिरामी भएर अस्पतालमा उपचाररत रहेको लोक गायक सुरेश गन्धर्वलाई नेपाली काँग्रेसको भातृ सङ्गठन तरुण दल धरान उपमहानगर समितिले अस्पतालमै पुगेर आर्थिक सहयोग गरेको छ ।

अस्पतालमा उपचाररत गायक गन्धर्वलाई औषधी खर्चको लागि ११ हजार २ सय ५५ रुपैयाँ सहयोग गरिएको तरुण दलका धरान उपमहानगर अध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिए । यो रकम नगर कार्यसमितिबाट जुटाएर सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठले भविष्यमा गायक गन्धर्वलाई स्वास्थ्य बिमा गराउन पनि सहयोग गर्ने बताएका छन् । सरकारले बिमा नगरिदिए तरुण दलले गरिदिने उनको भनाई छ । सहयोग रकम हस्तान्तरण गर्न अध्यक्ष श्रेष्ठसँगै उपाध्यक्ष नरसिंह राई र सदस्य विक्रम तामाङ पनि अस्पताल पुगेका थिए । गायक गन्धर्व वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ट्रपिकल वार्डबाट सारेर मेडिसिन वार्ड युनिट ३ को बेड नं २१ मा राखिएको छ ।

गन्धर्वको उपचारमा सहयोगका लागि बैक खाता खोलियो
लोक गायक सुरेश गन्धर्वको नाममा आएको सहयोग रकम व्यवस्थित र पारदर्शी बनाउन बैङ्क खाता खोलिएको छ ।

मेघा बैङ्कको धरान शाखामा गायक गन्धर्वका छोरा यमकुमार गन्धर्व र सञ्चारकर्मी सञ्चिता धमलाको नाममा संयुक्त खाता खोलिएको छ । उक्त खातामा पहिलो रकम मेघा बैङ्कका शाखा मेनेजर सविन श्रेष्ठसहित १४ जना कर्मचारीहरूले नगद ४ हजार सहयोग स्वरूप जम्मा गरिदिएका छन् ।

Megha-Bank

गन्धर्वको नाममा आउने सहयोग रकम सबै बैङ्क खातामा जम्मा गरेर पारदर्शी बनाउन खाता खोलिएको स्रष्टा सुरेश गन्धर्व र सारङ्गी बचाउ अभियान समितिका संयोजक विष्णु मोक्तानले बताए ।

खातामा पहिलो रकम बैङ्कका कर्मचारीहरूको तर्फबाट ४ हजार जम्मा भएको छ ।’ गन्धर्वलाई सहयोग गर्न चाहने व्यक्तिहरूले मेघा बैङ्कको धरान शाखास्थित खाता नम्बर ०२२००५८२६९५४ मा सहयोग पठाउन पनि स्रष्टा सुरेश गन्धर्व र सारङ्गी बचाउ अभियान समितिले अपिल गरेको छ ।

लोक गायक सुरेश गन्धर्वको उपचारमा सहयोग गर्नका लागि रङ्गकर्मी विष्णु मोक्तानको संयोजकत्वमा स्रष्टा सुरेश गन्धर्व र सारङ्गी बचाउ अभियान समिति गठन भएको छ ।