धरान : सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा शनिवार राती भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

शनिवार राती सवा ७ बजेको समयमा सुनसरीको इटहरी उप महानगरपालिका २ आपगाछीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

धरानबाट इटहरी तर्फ जाँदै गरेको को १ ख ५५२७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको को ३२ प ६७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक धरान १० का ३० वर्षीय विक्रम चेम्जोङको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति सवा ८ बजे मृत्यु भएको हो ।

यसै गरी सुनसरीको बराहक्षेत्र नगरपालिका १ रानी खोलामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार रहेका कानेपोखरी गाउँपालिका १ का २६ वर्षीय सनम याक्खाको मृत्यु भएको छ ।

चतराबाट बराहक्षेत्र तर्फ जाँदै गरेको प्रदेश १ ०२–०४१ प ४९७१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका याक्खाको विराट नर्सिङ होममा उपचारको क्रममा राती सवा १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय चतराले जनाएको छ । दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।