धरान : १४ वर्षीय एक बालिकालाई जबरजस्ती करणी गरी भारत बेच्न लैजाने धरान १७ का ३० वर्षीय आशिष् सुनार पक्राउ परेका छन् ।

आर्थिक प्रलोभन देखाएर बालिकालाई भारत तर्फ बेच्न लाने तेह्रथुम घर भई धरान स्थित दिदीको घरमा बस्दै आएकी बालिकालाई मोरङ प्रहरी र साना हातहरू नेपाल नामक संस्थाले उद्धार गरेको हो ।

बालिकाको उद्धार पछि जबरजस्ती करणी समेत भएको प्रहरीले जनाएको छ । मःम खुवाउने बहानामा नशालु पदार्थ खुवाएर सोही होटेलमा करणी गरेको पीडितको जाहेरीमा उल्लेख छ । पक्राउ परेका सुनुवार प्रहरी हिरासतमा छन् ।

पहाडबाट धरान आएकी ती बालिका धरान स्थित दिदीको घरमा बस्दै आएकी थिइन् । दिदीको घरमा बस्ने क्रममा सुनारसँग ती बालिकाको चिनजान भएको थियो । पहाडकी सोझी बालिकालाई ललाई फकाई सुनारले एक महिना अगाडि घुमाउन भन्दै भेडेटार जाने सडकको भ्युप्वाइण्ट होटेलमा लिएर गएका थिए ।

बालिकालाई भारतको जोगवनीमा कपडा किनिदिने भन्दै २९ पुसमा लिएर जाने क्रममा विराटनगर–१६ स्थित नेपाल–भारतको सिमानाका दरैया बस्तीदेखि सुनारलाई र बालिकालाई प्रहरीले फेला पारेको थियो ।

पक्राउ परेका सुनारलाई इलाका प्रहरी कार्यालय रानी विराटनगरले शुक्रवार मोरङ अदालतमा ‘मानव बेचबिखन’ मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।