इटहरी : जागिरको लागी काठमाडौँ देखी न्युजील्याण्ड सम्म हानिएका विजय लिम्बु अहिले आफ्नै सहरमा व्यस्त छन् । इटहरीको सङ्गीत चौकमा 'कस्टुम प्रिन्ट'को व्यवसाय सुरु गरेका उनलाई एकै छिन फुर्सद छैन ।

कुनै बेला कामको अभावमा भौतारीएका लिम्बु अहिले काम धेरै भएर आत्तिने अवस्थामा छन् । सुरुदेखि नै ग्राफिक्स डिजाइन सम्बन्धी ज्ञान भएका उनले लकडाउनको उपयोग गर्दै कस्टुम प्रिन्टमा दक्ष बने ।

फुर्सदको समयमा आफ्नो रुचिको विषय हेर्ने क्रममा उनले कस्टुम प्रिन्ट सम्बन्धी सिक्ने मौका पाए । युट्युबमै हेरेर उनले नयाँ डिजाइन सम्बन्धी ज्ञान पाएको बताउँछन् । लकडाउन अगाडी नै त्यस सम्बन्धी काम गर्ने योजना बनाएर मेसिन ल्याइसकेका उनले घरैमा बसेर काम सुरु गरे । सुरुमा केही सामग्री बिग्रिए पनि पछि फिनिसिङ राम्रो हुँदै गयो ।

त्यसपछि सङ्गीत चौक छेवैमा रहेको फलैँचा क्याफेसँगै सटर भाडामा लिए । त्यसपछि सुरु भयो उनको व्यस्तता । दैनिक ५ हजार सम्मको कारोबार गर्ने उनले कस्टम प्रिन्टको मूल्य सुची समेत तयार पारेका छन् । मोबाइल कभरमा फोटो राखेको ४ सय र टिसर्टमा प्रिन्ट मात्र गरेको ३ सय रुपैयाँ मूल्य तोकेका छन् । त्यससँगै किरीङ र कपमा प्रिन्ट गर्ने काम समेत सुरु गरेका छन् ।

चाइना बाट प्रिन्ट भएर आएको सामान प्रयोग गर्नुपर्ने बाध्यता हटाउन आफ्नो व्यापार सहयोगी बन्ने उनको भनाई छ । विशेष गरी युवा वर्गमा फोकस गरेर व्यवसाय सुरु गरेको लिम्बुले बताए ।

अहिले सटमा केन्द्रित व्यवसायलाई व्यवस्थित गार्मेन्ट उद्योग सम्म पुर्याउने उनको योजना छ । जसको लागी २ करोड लगानी हुने उनको बुझाई छ ।

भूकम्प पछि बेरोजगार भएर विदेश हानिएका लिम्बुले लकडाउनमा आफ्नै घरमा व्यापार सुरु गरे । न्युजील्याण्डमा २ वर्ष बसेर फर्किएका उनले काठमाण्डौमा ३ वर्ष मार्केटिङ डिजाइनको काम गरे । त्यसबाट पनि केही ज्ञान पाएर आफै केही गर्ने सोचमा इटहरी फर्किएका हुन उनी । इटहरी आएको केही समयमै लकडाउन सुरु भएपछी त्यही मौकामा व्यवसायको योजना बनेको उनले सुनाए ।

सुरुवाती अवस्थामै राम्रो कारोबार हुन थालेपछि खुसी देखिएका लिम्बु दक्ष कामदार थप्ने तयारीमा छन् । सिप भएर आफ्नै घर आँगनमा केही गर्न सकिने बताउने लिम्बु युवाहरूमा दक्षता अनिवार्य सर्त रहेको बताउँछन् ।

Custom-Print-2