चतरा : विगठित प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले वराहक्षेत्र नगरपालिकालाई स्मार्ट सिटी बनाउने योजना रहेको बताएका छन् ।

नगर भित्रको दुई मुख बजार चक्रघट्टि र प्रकाशपुरलाई जोडेर स्मार्ट सिटी बनाउने योजना रहेको उनले बताए । जलस्रोत र अर्थ मन्त्री गरेर दुई पटक मन्त्री समेत बनिसकेका कार्कीले सुनसरीको पुरानो बस्ती बसेको महेन्द्रनगरको चक्रघट्टी र प्रकाशपुरलाई जोडेर स्मार्ट सिटी बनाउने कार्य अबको केही महिना भित्रै योजना प्रक्रियामा जाने बताए ।

शुक्रवार चतरामा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा कार्कीले चतरादेखि सुर्यकुण्ड जाने बाटो र धरान देखि सुर्यकुण्ड आउने बाटोको स्तर उन्नतिमा आफूले मन्त्री हुँदा बजेट छुट्याए पनि ठेक्का लगाउने कुरामा राजनीतिकरण भएको बताए । उनले सो सडक स्तरउन्तीका लागि पहल गर्ने बताए ।

उनले भने 'वराहक्षेत्र मन्दिर क्षेत्रमा कटान नियन्त्रण गर्न ५ करोड छुट्याए योजना पनि सम्पन्न भयो । आदर्श खानेपानी , प्राथमिक स्वास्थ्य केन्द्र, मठ मन्दिरमा मन्त्री हुँदा बजेट छुट्याएको थिए।'

उनले निर्वाचन हुने भयो र निर्वाचन आयोगले आचारसंहिता लागू गर्‍यो भने मात्र स्मार्ट सिटिको काम स्थगित हुने बताए । आफू विकास प्रेमी नेता भएको दाबी गर्दै कार्कीले भने 'मेरो टप्पुमा बत्ती बाल्ने चाहना थियो त्यो पूरा गरे । अब चक्रघट्टि र प्रकाशपुर जोडेर स्मार्ट सिटी बनाउने मेरो योजना छ । म यसलाई पूरा गर्नेछु ।'

राजनीति सेवा भएको र आफू राजनैतिक नारामा भन्दा पनि विकासमा विश्वास गर्ने बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता समेत रहेका कार्कीले काँग्रेस आन्दोलनको माध्यमबाट काँग्रेस जनता नजिकिए बताए । काँग्रेसले सम्मानित अदालतको निर्णयलाई सहर्ष स्वीकार गर्ने समेत बताए ।

उनले संसद् विघटनको विरोधमा आन्दोलनको स्वरूप परिवर्तन गरी जनतालाई सेवा हुने गरी राजनीति गर्नु पर्नेमा जोड दिए। राजनीतिले विकास दिनु पर्ने बत्ताउँदै पछिल्लो समयमा राजनीति प्रति युवाहरूको वितृष्णा बढिरहेको तर्फ मध्यनजर गर्दै विकास र रोजगारीलाई प्राथमिकतामा राखेर आन्दोलनमा अघि बढे आर्थिक नोक्सानी समेत नहुने बताए ।

मुलुकमा नेपाली काँग्रेसले लोकतन्त्र र संविधानको रक्षाका लागि आन्दोलनको स्वरूप परिवर्तन गरेर युवा पुस्ताहरूमा काँग्रेसले खेलेको भूमिका बारेमा स्पष्ट धारणा राख्नुपर्ने उनले बताए ।

उनले प्रदेश नं १ सरकारको नेतृत्व काँग्रेसले गर्नु पर्ने बताउँदै यदि त्यसो भएन भने भीम आचार्य भन्दा पनि शेरधन राईलाई समर्थन गर्ने समेत सङ्केत गरेका थिए ।

उनले भने ‘नेपाली काँग्रेसले राजनीतिक र ऐतिहासिक परिर्वतनको नेतृत्व गर्दै आएको पार्टी भएकोले अहिलेको परिस्थितिमा पनि काँग्रेसले निर्णायक भूमिका निर्वाह गर्नेछ।'

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट जनताले विश्वास गरेर विजयी गराएको हुँदा त्यही विश्वासलाई आत्मासाथ गरेर विकासको गतिलाई पनि तीव्रता दिएको उनले बताए । त्यस क्षेत्रको समस्यालाई समाधान गर्ने मेरो प्रमुख जिम्मेवारी भएकोले समयमा नै आवाज उठाएर जनताप्रति उत्तरदायी बन्ने उनले बताए ।

भेटघाट कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य दिपेशजंग बस्नेत , नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा वडा नं १ वडाध्यक्ष सुरेश श्रेष्ठ , नगर सभापति नारायण नेपाल, सचिव अमर कट्वाल , वडा नं १ सभापति ईश्वर थापा, वडा नं २ सभापति प्रदीप बस्नेत , काँग्रेस नेता ओमकुमार शर्मा ,अशोक खड्का, लक्ष्मी मालाकार, दलित सङ्घ क्षेत्र नं १ सभापति उदय ठटाल , नेपाल तरुण दल जिल्ला सदस्य सन्देश श्रेष्ठ लगाएका नेताहरूको उपस्थिति रहेको थियो।