धरान : धरान उपमहानगरपालिकाको राजस्व परामर्श समितिको आयोजनामा आज बसेको बैठकले घर बहाल कर निर्धारण गर्ने निष्कर्ष निकालेको छ । 

आज धरान उपमहानगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी सुवेदी, सुनसरी उद्योग वाणिज्य सङ्घका पदाधिकारी, कर्मचारी र विज्ञ सल्लाहकार सहित बसेको बैठकले बहाल करको वर्गीकरण तथा बनोटको आधारमा निर्धारण गर्ने निष्कर्ष निकालेको हो । बहाल करलाई कसरी निर्धारण गर्ने ? भन्ने विषयमा बृहत् छलफल भएको थियो । 

धरान उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख खगेन्द्र खतिवडाका अनुसार बहाल कर निर्धारण गर्दा व्यापारी तथा आवासीय क्षेत्रको आधारमा वर्गीकरण गर्ने र घरको बनावटको आधारमा वर्गीकरण गरिने भएको छ । उक्त आधारमा वर्गीकरण गरेर लगाउँदा यो बहाल करको न्यूनतम दर निर्धारण गर्दा उपयुक्त हुने आजको बैठकमा निष्कर्ष निस्किएको छ ।

‘घरको बनावट र यसको अवस्थिति कस्तो छ ? सडकमा छ कि, भित्र छ भन्ने हो । अर्को चाहिँ हाम्रो उपयोगको आवश्यक रहेको हो कि, व्यापारीको प्रयोग हो ?, त्यसको आधारमा वर्गीकरण गरेर  न्यूनतम दर निर्धारण गर्ने र त्यसको आधारमा बहाल कर पनि लगाउने उपयुक्त हुन्छ भन्ने निष्कर्ष निस्किएको छ ।’ दररेट कति निर्धारण गर्ने भन्ने बारेमा अध्ययन गरिने बताइएको छ । दररेट निर्धारण भएपछि पुनः बैठक बसेर निर्णय गरेर यसलाई अघि बढाउने बताइएको छ ।  

घर बहाल कर उपमहानगरपालिको सबैभन्दा महत्त्वपूर्ण आम्दानीको श्रोत बन्न सक्छ । यो श्रोतलाई कसरी जनस्तरसम्म लिन सकिन्छ ? त्यसको लागि व्यापारिक क्षेत्र, आवासीय क्षेत्र, मुख्य बजार क्षेत्र र समग्र क्षेत्रबाट बहाल कर उठाउन सकिने बैठकमा छलफल भएको राजश्व शाखाका प्रमुख खगेन्द्र खतिवडाले बताए ।

धरानका प्रत्येक वडा वडामा टोली परिचालन गरेर बहाल कर निर्धारण गरिने जनाइएको छ । न्यूनतम बहाल कर तय भइसकेपछि यो वर्ष सम्पूर्ण व्यावसायीहरु तथा घरधनीहरूलाई (नेट मार्फत) एकै ठाउँमा ल्याउने उपमहानगरपालिकाको उद्देश्य रहेको छ ।