इटहरी : इटहरीकै पुरानो ज्योति माध्यमिक विद्यालयमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरी परेको छ । सोही उजुरीको आधारमा अख्तियारले इटहरी उपमहानगरपालिकालाई समेत पत्र पठाइसकेको छ ।

विद्यालयका प्रधानाध्यापकमा भैरवप्रसाद सापकोटा नियुक्त भएपछि साठगाँठ मिल्ने गरी बन्नुलाल चौधरीलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाइएको आरोप सहित अख्तियारमा निवेदन परेको हो ।

प्राविधिक विषय अध्ययन गराउने अनुमति पाएको विद्यालयमा लगानी बढ्दै जाँदा भ्रष्टाचार पनि बढेको निवेदनमा भनिएको छ । सोही विषयमा केही दिन अगाडी इटहरीको एक अनलाइनमा समाचार आएको तर मोटो रकम दिएर समाचार मेटाइएको निवेदकको दाबी छ ।

भौतिक सामग्री खरिद गर्दा देखी सटर भाडा र सभाहल निमार्णमा भ्रष्टाचार भएको भनी अख्तियारमा पेस गरिएको छ । सार्वजनिक खरिद ऐन अनुसार लागत इष्टिमेट गरी दरभाउपत्र वा बोलपत्र आव्हानको सार्वजनिक सूचना नगरी निर्माण वा खरिद गर्ने गरेको आरोप छ ।

निर्माण समिति नबनाई, छुट्टै खाता पनि सञ्चालन नगरी सबै निर्माण कार्यहरू मनोमानी ढङ्गले गरे गराएको निवेदनमा उल्लेख छ ।

खरिद समिति नबनाई हचुवाका भरमा शैक्षिक सामग्री तथा फर्निचर खरिद गर्दा भ्याट बिल नलिएको र सकेसम्म खरिद सामग्री आफ्नो निजी विद्यालयमा लैजाने हुँदा स्टोर स्रेस्ता समेत बेपत्ता बनाइएको आरोप लगाइएको छ ।

‘अध्यक्ष चौधरी र प्रअ सापकोटाको मिलेमतोमा प्र.अ.लाई मासिक रु.१५ हजार र निजका भाइ प्रा.वि. शिक्षक सिताराम सापकोटालाई ९ हजार दिने निर्णय गरी नीतिगत भ्रष्टाचार गरे गराएको ।,’ निवेदनमा भनिएको छ, ‘विद्यालय व्यवस्थापन समितिको केही महिना अघि पदावधि समाप्त भएको र यही ०७७ मङ्सिर महिनाको दोश्रो साता भित्र प्र.अ. भैरवप्रसाद सापकोटाको अनिवार्य अवकाश हुनेहुंदा भए गरेका भ्रष्टाचार जन्य कार्यलाई निरन्तरता दिन र ढाकछोप गर्ने बदनियत राखी आफ्नो भाइ प्रा.वि.शिक्षक सिताराम सापकोटालाई सहायक प्र.अ. बनाइ निमित्त दिने बुझिएको ।’

चन्दा दाता घननारायण श्रेष्ठले कोठा बनाउन २ वर्ष पहिले दिएको रु.११ लाख भन्दा बढी रकम विद्यालय खातामा जम्मा नगरी नाङ्गो भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।