धरान : धरानको ऐतिहासिक विजयपुर दरबार परिसर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकरण गर्न सकिने सम्पदा संरक्षण अभियन्ताहरूले बताएका छन् ।

पुरातात्त्विक र ऐतिहासिक महत्त्वको दरबार परिसरलाई प्रक्रिया पुर्‍याएर युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गर्न सकिने अभियन्ताहरूले धारणा राखेका हुन् ।

सम्भावित सम्पदाको सूची सङ्कलन गर्न पूर्वी लिम्बुवान क्षेत्रको स्थलगत अध्ययनका क्रममा धरान आइपुगेका राष्ट्रिय सम्पदा संरक्षण अभियानका अभियन्ता विधु प्रकाश कायस्थले विजयपुरको संरक्षणका लागि पनि सम्पदा सूचीकरणका लागि सिफारिस गर्न सकिने बताए ।

तङ्सिङ् मिडिया एन्ड रिसर्च सेन्टरले हिजो धरानमा आयोजना गरेको लिम्बुवानका सम्भावित विश्व सम्पदा विषयक अन्तरक्रियामा कायस्थले विजयपुरको पुरातात्त्विक एवम् ऐतिहासिक पक्षको दस्तावेजीकरण गरेर बृहत्तर विकासका लागि सम्पदा सूचीमा राख्न पहल गर्न सकिने विचार राखे ।

‘लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरको शासनकाल र शासकहरूबारे देशी विदेशी इतिहासकारहरूले पर्याप्त चर्चा गरेका छन् । धरानको प्राचीन नाम पनि विजयपुर नै हो ।

विजयपुरको इतिहासले रैथाने जातिका प्राचीन इतिहासको पक्षलाई पनि उजागर गर्छ ।’ उनले नेपालबाट दश संरचनाहरू विश्व सम्पदा सूचीमा परेको बताए । तीमध्ये आठ काठमाडौँ उपत्यकाभित्र छन् । बाँकी दुई चितवन र सोलुखुम्बु जिल्लामा ।

उनले लिम्बुवान क्षेत्रबाट मुक्कुमलुङ्मा, विजयपुर, तमोर खोला क्षेत्रका धेरै संरचनाहरू सम्पदा सूचीमा पर्न सक्ने विश्वास गरे । नेपालका करिब ६० बढी जिल्ला घुम्ने क्रममा उनले थपा १५ मूर्त सम्पदाहरू सूचीकरणका लागि तयार पारिसकेको बताए ।

१६ वर्ष संयुक्त राष्ट्र सङ्घमा सञ्चार विज्ञका रूपमा काम गरेका कायस्थले मुन्धुमी सभ्यताका स्थलहरूलाई मूर्त सम्पदा र मुन्धुमलाई अमूर्त सम्पदाका रूपमा सूचीकरण गर्नुपर्ने सुझाव समेत दिए ।

Antarkriya-1

त्यसै गरी, वरिष्ठ पत्रकार हर्ष सुब्बाले राज्यले आदिवासीको पहिचानप्रति अनुदार भएको आरोप लगाए । ‘विजयपुर आदिवासी लिम्बु जातिको इतिहाससँग गाँसिएको क्षेत्र हो ।

यहाँको राजकीय प्रशासकीय पक्षको अध्ययन गरिनुपर्छ,’ उनले भने, ‘तर, राज्य अनुदार छ । आफ्नै माटोको इतिहास बुझ्न असमर्थ भइरहेको छ ।’

त्यस्तै, धरान प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवम् याक्थुङ संस्कृतिकर्मी अम्बिका सम्बाहाङ्फेले लिम्बुवानमा ९लुङ० ढुङ्गासँग सम्बन्धित धेरै संरचनाहरूमा इतिहास लुकेको कुरा अगाडि सारे ।

‘सुम्हेत्लुङ, सुम्हात्लुङ, मुक्कुमलुङ, फक्ताङलुङ आदिहरूले मानव सभ्यता सुरु भएदेखि राजकाज चलाएको सम्मको इतिहासलाई प्रतिविम्वत गरेका छन्,’ पालामविद् समेत रहेका सम्बाहाङफेले भने ।

यसै गरी, किरात याक्थुङ चुम्लुङका संस्थापक नरप्रसाद लुम्फुङ्वाले विजयपुरका संस्थापक याक्थुङ लिम्बु कुलमा जन्मिएका विजयनारायण रायले स्थापना गरेको बताए ।

उनका अनुसार चौबिसे थुमको राजधानी साँघुरी गढी र पहाडी मोरङको वारातप्पा गढीको मध्य भागमा रहने गरी विजयनारायणले शासन सुरु गरेको जिकिर गरे । विजयपुर राज्यको स्थापना १४ औँ शताब्दीमा भएको इतिहासकारहरूले विभिन्न पुस्तकहरूमा उल्लेख गरेका छन् ।

करिब तीन वर्षअघि एडिबीको खानेपानी आयोजनाअन्तर्गत पानी ट्याङ्की बनाउने कामको अवरोधका बेला विजयपुर बचाउ आन्दोलनका नाममा लिम्बुवान आन्दोलनकारी लगायत स्थानीय आदिवासी समुदायहरू आन्दोलित भएका थिए ।

विजयनारायणको दरबार परिसर क्षेत्रमा लिम्बु विद्यार्थी मञ्चले आठ वर्षअघि साउन २२ को स्मरणमा विजयपुर स्मारक स्थापना गरेको छ । त्यस्तै, विजयपुर दरबार परिसर संरक्षण सङ्घर्ष समितिले बोर्ड राखेको छ ।

तङसिङ मिडिया एण्ड रिसर्च प्रा.ली. धरानको आयोजना र लिम्वुवानी संरक्षण सम्पदा संरक्षण सरोकार समूह युकेको प्राविधिक सहयोगमा सम्पन्न अन्तरक्रियाले विजयपुरको इतिहासलाई थप प्रकाश पारेको आयोजक संस्थाका अध्यक्ष योवाहाङ तुम्बाहाम्फेले बताए ।

अन्तरक्रिया पछि हिजो नै विजयपुर दरबार परिसर क्षेत्रको स्थलगत अध्ययन समेत भएको थियो ।

BHimsen-Than-Bijayapur Bijayapurka-dhunga