धरान : मोरङको सुनवर्षी नगरपालिका–८ का वडा अध्यक्ष नुरुल मियाँसँग भारतीय आधार कार्ड भेटिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ ।

तत्कालीन एमालेबाट वडा अध्यक्ष निर्वाचित मियाँसँग भारतीय आधार कार्ड र बैङ्कमा खाता रहेको भन्दै वडा सदस्यहरूले कारबाही गर्न माग पनि गरेका छन् ।

आधार कार्डका आधारमा फिनो पेमेन्टस बैङ्कमा खाता खोलेका छन् । बैङ्कको विवरणमा नुरुलले आफ्नो ठेगाना सोनापुर– ८ अररिया उल्लेख गरेका छन् ।

नेपालमा भने उनले वंशजको आधारमा नागरिकता लिएका छन् । मोरङको तत्कालीन डाइनिया गाविस वडा ३ बाट २०५५ असार ५ गते वंशजको आधारमा नागरिकता लिएका हुन् ।

दोहोरो नागरिकता लिएको भन्दै वडा सदस्यहरूले माघ २६ गते अध्यक्ष विरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी गरेका हुन् ।

भारतीय आधार कार्ड भएका अध्यक्षले भ्रष्ट्राचार गरी रकम भारततर्फ लगेको भन्दै वडाका वडा सदस्य कन्याँ मिया, कन्हैयालाल गनगाई, दुखिया ऋषिदेव र शिलादेवी गनगाइले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका छन्।

वडाध्यक्ष मियाँले आफूले भारतको दिल्लीमा बस्दा आधार कार्ड बनाएको बताएका छन् । दिल्लीमा परिवारको व्यवसाय रहेको बताउँदै उनले आफूसँग कार्ड रहेको स्वीकार गरेका छन् । तर जनप्रतिनिधि भएपछि आधार कार्ड त्यागेको मियाको दाबी छ ।

Dohoro-Nagarikta-Ujuri