धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईले शवलाई समाधिस्थ गर्ने जातिहरू र दाहसंस्कार गर्ने जातिहरूले निश्चित क्षेत्रलाई पहिचान गरी गुरुयोजनाकै रूपमा कार्य योजना बनाएर आए यस्ता क्षेत्र र स्थलहरूको विकासको लागि बजेट व्यवस्थापन गर्न पहल गर्ने बताएका छन् ।

धरानमा दाहसंस्कार कार्यलाई थप व्यवस्थित गर्ने उद्देश्यले धरानमा “मृत्यु संस्कार (दाहसंस्कार) स्थल व्यवस्थापनमा समस्या र समाधान” बिषयक कार्यशाला गोष्ठीको समापन कार्यक्रममा मेयर राईले सो कुरा बताएका हुन् ।

यसै गरी उपमहानगर भित्रका अति विपन्नहरूको लागि हाल निःशुल्क शव वाहन उपलब्ध गराई रहेको तथा मलामी खर्चको लागि ।३ हजार सम्म सहयोग दिइने समेत मेयर राईले बताए ।

मेयर राईले धरानका दाहसंस्कार स्थलहरूलाई व्यवस्थित गर्न तत्काल ५ लाख रुपैयाँ सम्मको प्रभावकारी योजना आए तुरुन्तै कार्यान्वयन गर्ने समेत प्रतिबद्धता जनाए ।

धरान प्रज्ञा प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानकै कार्यालय धरान-८ सभागृहमा आयोजित सो कार्यक्रममा धरानमा रहेका विभिन्न १८ वटा जातीय संस्थाहरूबाट प्राप्त प्रतिवेदनको आधारमा तयार गरिएको कार्य योजना प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रतिवेदन प्रतिष्ठानका सदस्य तथा दाहसंस्कार स्थल व्यवस्थापन उपसमितिका संयोजक प्राज्ञ शुभ चन्द्र राईले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा अहिले दाहसंस्कार स्थल व्यवस्थापनमा देखिएका समस्यालाई औल्याउदै विभिन्न १८ बुँदे समस्या समाधानका उपाय सुझाइएको छ ।

कार्यशाला गोष्ठी धरान प्रज्ञा प्रतिष्ठानका संयोजक प्राज्ञ अम्बिका सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सदस्य प्राज्ञ गोपाल देवानले सञ्चालन गरेका थिए । गोष्ठीमा विभिन्न जातीय संस्थाका अध्यक्ष र प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।