धरान : झापाको बिर्तामोडमा ‘झापा जिल्ला स्तरीय दोस्रो लायन्स खुल्ला ब्याडमिन्टन प्रतियोगिता’ हुने भएको छ।

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित गत वर्षबाट सुरु भएको ब्याडमिन्टन प्रतियोगिता यस वर्ष पनि फागुन २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने बिर्तामोडमा शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइएको छ ।

प्रतियोगितामा खुल्ला तर्फ ३२ र भेट्रान तर्फ २३ टिम सहभागी रहने लायन्स क्लब अफ अनारमनीका तृतीय उपाध्यक्ष तथा खेलकुद संयोजक दीपेन्द्र पोखरेलले जानकारी दिए । प्रतियोगिता लायन्स क्लब अफ अनारमनीको आयोजनामा हुन लागेको हो ।

पोखरेलका अनुसार प्रतियोगिताको उद्घाटन लायन्सका एलसी आई एफ डिस्ट्रिक कोअडिनेटर लीला चिमरिया, जोन पर्सन शैलेन्द्र कुरुङ्वाङ्ग,रिजन चेयर पर्सन ओमकृष्ण विमली र एरिया चेयर पर्सन सत्यनारायण शर्माले संयुक्त रूपमा गर्ने छन् ।

प्रतियोगितामा खुल्ला तर्फका प्रथमले ट्रफी र प्रमाणपत्र सहित नगद २५ हजार, द्वितीयले २० हजार र तृतीय हुने टिमले ८ हजार रुपैयाँ पाउने छन् । त्यस्तै भेट्रान तर्फ प्रथमले २० द्वितीयले १५ र तृतीय हुनेले ५ हजार रुपैयाँ नगद तथा ट्रफी हात पार्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

बिर्तामोड ब्याडमिन्टन क्लबको हलमा प्रतियोगिता हुने लायन्स क्लब अफ अनारमनीका अध्यक्ष डा गौरीशङ्कर झाले जानकारी दिए ।