धरान : सप्तकोसी नदीको बिचमा रहेको खुवालुङ किराँती सभ्यता र संस्कृतिसँग जोडिएको ऐतिहासिक महत्त्वको भन्दै संरक्षण गर्नुपर्ने माग गरिएको छ ।

सप्तकोसी नदीमा जल यातायातलाई अवरोध गरेको भन्दै सप्तकोसी नदीको बिचमा रहेको खुवालुङलाई भत्काउनुपर्ने कुरा उठिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भत्काउन जोड दिएकोमा किराँती समुदायले यसको घोर भर्त्सना गर्दै विभिन्न सङ्घर्षका कार्यक्रमहरू घोषणा गरेका छन् ।

धनकुटा, भोजपुर र उदयपुर जिल्लाको बिचबाट बग्ने सप्तकोसी नदीको मध्य भागमा रहेको खुवालुङ भत्काउन नहुने भन्दै किरात समुदाय अन्तर्गतका सरोकारवाला निकायहरूले विरोध गरिरहेका छन् । सरोकारवाला निकायहरूले जलमार्गलाई अवरोध गर्‍यो भनेर फुटाउनु र भत्काउनुको साटो वैकल्पिक उपाय खोज्न आग्रह गरेका छन् ।

किराँत समुदायको किराँती सभ्यता र संस्कृति सँग जोडिएको ऐतिहासिक महत्त्वको पवित्र तीर्थ स्थल भनेर दाबी गर्दै उनीहरूले गत माघ २ गते खुवालुङ क्षेत्र संरक्षण समिति गठन समेत गरेका छन् ।

समिति गठन भए पछि खुवालुङको विषयमा बुझाउँदै खुवालुङको संरक्षण कार्यमा लागि परेको समितिले आइतबार किराँती सभ्यता र संस्कृति सँग जोडिएको ऐतिहासिक महत्त्वका मुन्दुमी शक्ति केन्द्र खुवालुङ सम्बन्धी जानकारी एवम् छलफल कार्यक्रम समेत सम्पन्न गरेको छ ।

वराहक्षेत्र-१ चतरा स्थिति बोलबम धर्मशालामा आयोजना भएको कार्यक्रममा किरात मुन्धुम परिषद्का संयोजक ईन्द्रहाङ्ग खम्बुले ‘खुवालुङ के हो ? र यससँग जोडिएको किराँतीहरूको ऐतिहासिक, धार्मिक तथा आध्यात्मिक पक्षहरू’ बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

Khuwalung

यस्तै किरात राई प्रज्ञा परिषद्का सदस्य तथा खुवालुङ संरक्षण समितिका सल्लाहकार सालिक शतासक राईले ‘खुवालुङ : सांस्कृतिक आस्थाको केन्द्र’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

किरात समुदायको धार्मिक तथा ऐतिहासिक आस्थाको केन्द्र ‘खुवालुङ’ लाई विकासको नाममा फुटाउने कुरा कुनै पनि हालतमा सह्य नहुने किराँती धार्मिक सांस्कृतिक अभियानताहरुले चेतावनी दिए। किराँत समुदाय संस्कृतिका विज्ञ, विश्लेषक तथा सरोकारवालाहरूले खुबालुङको बारेमा बोलेका थिए ।

कार्यक्रममा सुनसरी, भोजपुर, उदयपुर, धनकुटा लगायतका क्षेत्रबाट किराँती समुदायका व्यक्ति र सरोकार राख्नेहरूको उपस्थिति रहेको थियो ।