इटहरी : प्रदेश १ की उपसभामुख सरस्वती पोखरेलले राजनीतिमा हुने महिला हिंसा विरुद्ध लड्न राजनीतिक दल भन्दा माथि उठ्न सक्नुपर्ने बताएकी छन् ।

इटहरी उपमहानगरले १११ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरेको श्रमिक महिला दिवसको महत्त्व र राजनीतिमा महिला हिंसा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन ।

उनले अबको चुनावमा दलभन्दा माथि उठेर सके ५० प्रतिशत नसके ३३ प्रतिशत महिलालाई जिताउनुपर्नेमा कुरामा जोड दिएन । महिला आत्मनिर्भर र सुखी हुन नसके संवृद्ध नेपाल बन्न नसक्ने बताउँदै उनले महिला आत्मनिर्भर बन्न सके हिंसा कम हुने बताइन ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य सर्वध्वज साँवाले महिलालाई हरेक क्षेत्रमा अवसर प्रदान गर्दै रोजगार बनाउन सक्नुपर्नेमा जोड दिए ।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले राजनीतिमा महिला हिंसाको विषय बहसको विषय नबनेकाले अब इटहरीबाट बहसको सुरुवात गरिएको  बताइन ।

कार्यक्रममा इटहरीका प्रहरी प्रमुख डिएसपी अर्जुन केसी तथा विमला ढकाल, रञ्जु सिग्देल, रोशना थापा, कमला खडका, रुक्मिणी कोइराला गङ्गा गुरुङ लगायत बोलेका थिए ।

कार्यक्रममा ई-रिक्सा चालकहरू सीता  परियार, सुजता राई, रिता दाहाल, मनीषा कार्की र दीपा कार्कीलाई सम्मान गरिएको थियो ।

यसै गरी उपमेयर आत्मनिर्भर कार्यक्रममा उत्कृष्ट कार्य गर्ने तालतलैया कृषि उद्यमी महिला समूह इटहरी-२, सगरमाथा दालमोठ भुजिया महिला उद्यमी समूह इटहरी-२०, चिनारी कृषि उद्यमी महिला समूह इटहरी-१९, सृजनशील कृषि उद्यमी महिला समूह इटहरी-३, लाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

लामो समयदेखि महिला स्वास्थ्य स्वयंसेविका भई स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै रुक्मिणी कोइराला र दीपा शर्मालाई समेत  सम्मान गरिएको थियो ।