नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्योलमा परेको छ। क्रियाशील सदस्ययता वितरणको विवादका कारण पछि सर्दै आएको  महाधिवेशन अझै निश्चित भएको छैन। भदौ २३ भित्र महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यता भए पनि काँग्रेस भित्र त्यो तयारी देखिएको छैन। तथापि वडा देखी केन्द्र सम्म नै नेतृत्वको होडबाजी सुरु भएको छ।

प्रदेश १ को एक मात्र महानगरपालिका त्यसमाथि नेपाली काँग्रेसको उर्वर भूमि मानिएको विराटनगरमा महाधिवेशनको रौनक झनै बढेको छ। एउटै टिमबाट धेरै आकाङ्क्षी भएपछि नेतृत्व व्यवस्थापन सकसपूर्ण बन्दै गएको छ । बिपी कोइराला देखी गिरिजा प्रसाद हुँदै डाक्टर शेखर कोइरालाको गृह नगर विराटनगरमा आगामी नेतृत्वको लागी तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । यही मेसोमा नेपाली काँग्रेस महानगर समितिको सभापति पदका आकाङ्क्षी दीपक चापागाईँ सँग कपुरी न्युजका विनय बाह्रकोटीले गरेको कुराकानी :

अघिल्लो महाधिवेशनमा पनि सभापतिको उम्मेदवार हुनुहुन्थ्यो । खासमा १३ औँ र १४ औँ महाधिवेशनमा कार्यकर्तामा कस्तो परिवर्तन पाउनु भयो ?

वास्तवमा यसअघि भएका स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचनले नयाँ सन्देश दिएको मैले पाए । जनतामाझ जति लोकप्रिय भए पनि सङ्गठनभित्र आफ्नो प्रभुत्व कायम गर्न सकियो भने टिकट ल्याउन देखी चुनाव जित्न सहज हुने बुझाई देखियो । यसलाई प्रमाणित गर्न माथिल्लो स्तरकै नेताहरू लागिपरेका छन् । सङ्गठन भित्र हालीमुहाली गर्न धेरै नेताहरू लागेका छन् । १३ औँ महाधिवेशन भन्दा यस पटक नेतृत्व हत्याउनै पर्छ भन्ने मान्यता बढी नै हाबी भएको छ ।

काँग्रेसको साङ्गठनिक सक्रियता कस्तो पाउनु भयो ?

नेताहरू गुटको माध्यमबाट पार्टी कब्जा गर्ने अभियानमा छन् । सङ्गठन बिस्तार गर्ने र जनस्तरसम्म पार्टीको बिचार र सिद्धान्तलाई पुर्याउने काममा कसैले ध्यान दिएको छैन । क्रियाशील आफ्नो मान्छेलाई दिने काममा धेरै सक्रिय भएको पाइयो । त्यस विरुद्धमा खबरदारी गर्ने बेला भएको छ । विराटनगरमा मैले त्यसको नेतृत्व गरिरहेको छु। पार्टी भित्र शुद्धीकरण नभई समाजमा शुद्धीकरण गर्न सकिँदैन भन्ने मेरो बुझाई छ । सङ्गठन रचनात्मक हुनपर्छ भद्दा हैन ।

विराटनगर महानगरपालिकामा काँग्रेस विजयी भएको छ । जनताको अपेक्षा अनुसार काम भएजस्तो लाग्छ ?  

विराटनगर मात्र हैन मोरङका धेरै पालिकामा नेपाली काँग्रेस विजयी भएको छ। जनताले धेरै ठुलो आशा गरेका थिए । जनताले सोचेजस्तो काम नभएको सत्य हो। कतिपय साथीहरूले काँग्रेसको वर्चस्व भएको ठाउँमा पार्टीको भन्दा पनि व्यक्तिगत प्रचारप्रसारमा ध्यान दिइरहेका छन् । त्यो काँग्रेसको लागी घातक हो। पार्टीलाई बाइपास गरेर काम गर्ने साथीहरू सुध्रिन जरुरी छ। 

कार्यकर्ताले तपाई नै नेतृत्वमा ल्याउनुपर्छ भन्ने आधार के ? 

मैले यो बिचमा धेरै कार्यकर्ताको घरमा पुग्ने मौका पाए। युवा देखी वृद्ध सम्मको भावना बुझ्ने अवसर प्राप्त भयो। मैले के बुझे भने राजनीति गर्ने मान्छे सामाजिक क्षेत्रमा पनि सक्रिय हुनैपर्ने रहेछ । सामाजिक क्रियाकलापमा सक्रिय भइयो भने कार्यकर्ता मात्र हैन जनताले पनि विश्वास गर्ने वातावरण पाइने रहेछ । मलाई धेरै नेता कार्यकर्ताले साथ समर्थन गर्ने अवस्था मैले पाएको छु।

मैले भनेको आगामी नेतृत्वमा तपाई नै किन ?

नेपाली काँग्रेसको ऐतिहासिक गढी हो विराटनगर । यहाँ काँग्रेस कमजोर हुनु हुँदैन भन्ने हाम्रो मान्यता हो । हरेक वडामा काँग्रेसलाई कसरी मजबुत बनाउने भन्ने मेरो अभियान छ । म लामो समय देखी सामाजिक क्षेत्रमा पनि कार्यरत रहेको छु । काँग्रेस भित्रका युवा देखी वृद्ध सम्म मेरो साथमा हुनुहुन्छ । परिवर्तनको पक्षपाती युवाहरू मेरो साथमा छन् ।

अहिले 'एक व्यक्ती एक पद'को मुद्दा निक्कै लोकप्रिय बन्दै गएको छ। त्यसलाई कसरी अगाडी बढाउनुहुन्छ ? 

पदको लागी हैन परिवर्तनको लागी सभापतिमा मेरो उम्मेदवारी हो । त्यही हिसाबमा म चुनाव लड्दै छु । नेपाली काँग्रेसलाई बलियो बनाउन म लागी पर्छु । सङ्गठन मजबुत बनाउनमा मेरो ध्यान केन्द्रित छ । वडा देखी नगर क्षेत्र सम्म काँग्रेसलाई विजयी गराउँछु। यो मेरो संकल्पनै भयो। 

Dipak-biratnagar-2

नेपाली काँग्रेसले बिर्सिएको तर गर्नैपर्ने काम के हो ? 

काँग्रेसले केही गर्नू पर्दैन। आफ्नो विधान अनुसार सङ्गठन चलायमान बनाए मात्र धेरै सुधार हुन्छ । बिपी कोइरालाको बिचारलाई अनुसरण गरेर देश र पार्टी चलाउने सङ्कल्प काँग्रेसको लागि जरुरी भइसक्यो। नीति र सिद्धान्त अनुसारको व्यवहार भयो भने पार्टी आफै सुदृढ भएर जान्छ। 

त्यसमा गुटबन्दीले असर पार्छ होला नि !

नेपाली काँग्रेसको जन्मनै दुई पार्टी मिलेर बनेको हो। त्यही बेला देखी गुटबन्दी सुरु भयो। तथापि पार्टीको निर्णय र नेतृत्वमा कुठाराघात भएन। अधिवेशनमा चुनाव हुनु स्वाभाविक हो। तर त्यसैलाई इस्यु बनाएर आम निर्वाचनमा बदला लिन थालियो भने पार्टी पनि कमजोर हुन्छ र लोकतन्त्र पनि धरापमा पर्छ। जुन केही महिना अगाडीको राष्ट्रिय राजनीति हेरे पुग्छ।