सङ्खुवासभा : सङ्खुवासभाको मादी सामूहिक हत्याकाण्डको सफल अनुसन्धान गरी घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्नमा कुशलतापूर्वक पूर्ण इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गरेको भन्दै ५ जना प्रहरी पुरस्कृत भएका छन् ।

पुरस्कृत हुने प्रहरीहरूमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसी, सङ्घीय इकाई प्रहरी कार्यालय धरानका अपराध अनुसन्धान शाखाका एसपी भीमबहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी डिएसपी लालध्वज सुवेदी, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी निरीक्षक मणिराम थापा र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान शाखाका प्रहरी निरीक्षक बविन्द्र नेम्बाङ रहेका छन् ।

उनीहरूले अपराध अनुसन्धानमा सम्पादन गरेको प्रशंसनीय कार्यको कदर स्वरूप प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम अभिलेखमा जानिने गरी प्रहरी प्रधान कार्यालयले उनीहरूलाई बिहीबार नगद पुरस्कारद्वारा पुरस्कृत गरेको हो ।