विराटनगर : प्रदेश १ मुख्यमन्त्री भीम आचार्यले संविधानको मर्म र भावनालाई आत्मसाथ गर्दै मन, वचन र कर्मले प्रदेश १ को श्रीवृद्धिकालागि योगदान गर्न प्रदेशवासीलाई आह्वान गरेका छन् ।

संविधानको पूर्ण कार्यान्वयन, प्रदेशको समृद्धि र सुशी नागरिकको अपेक्षा सहित संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८ को शुभकामना सन्देश जारी गदै उनले यस्तो आव्हान गरेका हुन् ।

नेपाली जनताको लामो सङ्घर्ष र बलिदान पछि ६ वर्ष अघि आजकै दिन संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएको थियो । उनले संविधान दिवस अर्थात् राष्ट्रिय दिवसको यस पुनीत अवसरमा देश विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।

‘जनताको अथक योगदान, अधिकारको खातिर गरिएको बलिदानी ले जनताकै प्रतिनिधिहरू मार्फत धर्म निरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता सहितको संविधान हामीले पाएका छौँ ।’

जारी सन्देशमा भनिएको छ-‘यही संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा बाधेको छ ।’

लामो समयदेखिको राजनीतिक द्वन्द्व समाप्त गदै राष्ट्रिय एकता, शान्त, समुन्नत र समृद्ध नेपाल बनाउनु पर्ने दायित्व नेपालीकै भएको बताउँदै समृद्ध प्रदेश निर्माणका लागि सबै राजनीतिक दल, सङ्घसंस्था तथा आम जनसमुदायमा आव्हान समेत गरेका छन् ।

प्रदेशलाई सामाजिक, आर्थिक समृद्धिसहितको विकास गर्न प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको उनले बताए ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ का कारण देश आक्रान्त भए पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न स्वच्छ, सुशी र समन्त प्रदेश निर्माणका लागि प्रदेश सरकार सबैसँग हातेमालो गरेर अगाडी बढेको जारी सन्देशमा भनिएको छ ।

Subhakamana