फैलियो रङ्गिन फूलहरूको महक
चारैतिर बयेली खेल्दा
हावाको एकै झोक्कामा 

आवासो सोदेनहाङ्वाको 
निर्दोष तर केही खोजी रहेका एक वयस्क युगल आँखासँग 
जुध्यो एक्कासि नेत्तिहाङ्मा फुङतीअन्नामाको
निर्दोष तर तेजिला एक जोर अर्को वयस्क आँखा

फूलैफुलले ढाकिएको तेम्बेमा
फुलैपिच्छेका सुवासले तानिएर 
भुनभुनाउदै आएका भमरा 
मातेर रसले लर्वराउदै उडे
फुलका रंगैरंगवीच नाचिरहेका 
गौथलीहरु 
गुँड बनाउन छाडेर 
कानेखुसी गर्दै चिर्विराउदै बसे

हरर चलेको वासनाबिच 
फुलैफुलको बस्तीमा

जुझ्दा 
आवासो सोदेनहाङ्वा र नेत्तिहाङ्मा फुङतीअन्नामाको 
एकाएक जोर आँखा

चम्किएका थिए बिजुली
भिलिक्क झिलिक्क 
र, तिरमिराएका थिए 
क्षणभरकालागि दुवै जना वयस्क जोडी
थाहा नपाएर 
जोडिएको मनको तार 

र त पहिलो पटक 
चम्किएको थियो बिजुली
मनको तार जोडिदा 

मनको तार जोडिए पनि
बाँकी अझै थियो
एकले अर्कालाई स्पर्श गर्न 

बाँकी अझै थियो अवासो सोदेनहाङवाले
नजिकै मुख जोडेर 
फुङ्ती अन्नामाको कानको लोतीमा 
झुन्डिएको कानढुङ्ग्रीलाइ अलिकति
पन्छाउँदै साउतीको भाषामा केही भन्न
तातो सासले 

र, सुन्न बाँकी थियो
फुङ्तीअन्नामाले पनि
आदिम प्रेमको बकपत्र 

फुलको बासानाले लट्ठिएको हो कि
नेत्तीफुङ्तीअन्नामाको आकर्षणको बासानाले लट्ठिएर हो
पुगेर नजिकै 
सारेर दुई पाइला

भु्इसोरी गरेर बिन्ती बिसायो 
जोडेर दश औला–
ए सिसागेन मेन्छ्या 
नेत्तीहाङ्मा फुङ्तीअन्नामा
तिम्रो आँखाबाट निस्केको ज्योतिले 
पराजित भएको छु
र, मेरो आँखाबाट निस्केको ज्योतिले 
पराजित भएका छौ तिमि 

आँखाहरू जुझ्दा 
तिमि पनि लड्खडायौ
र फुलको आड लिएर उभिन सक्यौ
म तिरमिराएर 
अरू केही देखिन तिमि सिवाय

आफ्नै अगाडि उभिएको नालिगेन थाङ्वेनको 
सुनेर आदिम प्रेमको बकपत्रले 
तरङ्गित हुँदै मुस्काइन् 
परेलीहरू नचाइन र अनुहारलाई फुलजस्तै रंनिन बनाइन्
अनि बयेली खेलिरहेका एउटा फुलको गुच्छाले 
हानेर लजाउँदै लुकिन् फुलकै झाडी बिच त्यसपछि 
............................

फुलको वासनासँगै 
काम वासना पनि जागेको बेला 
अचानक भएकै हो लेलेपको पारिलो गाउँमा 
र, मदहोस मदहोस बनेकै हुन् दुवै  

आँखाकै इशारामा अलिकति मन चोराचोर गरेका थिए
नेत्तीहाङ्मा फुङ्तीअन्नामाको सौन्दर्यमा मक्ख परेर
अलिकति सपना चोरेका थिए अवासो सोदेनहाङ्वाले

नेत्तीहाङ्मा फुङ्तीअन्नामाको 
चिम्से आँखाको परेलीमा अल्झेर
आवासे सोदेनहाङ्वाले 
साउती गरेकै हो–
ए फूलकी सुन्दरी रानी,
नेत्तिहाङ्मा फुङतीअन्नामा
नदेऊ मलाई तिम्रो यौवनको वर्णन गर्न
म तिम्रो रूपको वर्णन गर्न सक्दिन 
.............................

दुवै मुस्कुराए 
संसारै मुस्कुराएको देखे 
फक्रिए अरुअरु फूलहरू सेक्मुरी र मारोतीफुङ पनि
चाले पाइला एकसाथ पालाम र च्याब्रुङको भाकामा
थाले रमाउन सिङचाङ्गो र अम्लारीफुङ 

फक्ताङलुङ तिरबाट आएको 
चिसो हावामा 
लहराइन् पच्छ्यौरीसंगै केशराशी
अरू अरू फूलहरू पनि हँंस्न थाले
कहिले घामको उज्यालो ज्योतिमा
कहिले जुनको निलो अँगालोमा
........................

अन्तमा 
त्यो आदिम प्रेमको अर्को बकपत्र थियो
आवासो सोदेनहाङ्वाको आँसुको मसिले लेखेको–

मैले मन्जुर गरेँ 
तिम्रो सर्त 
ठानिन मेन्जोमेन्जो

तिमिलाई मैले 
सजाउनु थियो आफ्नो सपनामा..... 
अँहा त्यो फुङलिङ गाउँदेखि अझै
उत्तर तिरको लेलेप गाँउमा

तमोरको शिरमा दुवो ढुङ्गा छोएर 
तिमि र मैले गरेको
बाचाहरूअनुसार
नसकेपछि चट्याङ झार्न आकाशबाट  
नसकेपछि भूँईचालो ल्याउन धर्तीमुनिबाट 

मैले  फुङ्वा चाङ्मा गर्न सकिन
र, तिमि तमोरको शिरै शिर कतै अलप भयौ 
छाडेर मलाई एक्लै एक्लै

मेरो मनभरिको माया चोरेर
आँखाभरिको सपना चोरेर 
प्रिय ए फूलहरूकी रानी
मैले तिम्रो मांगेना उठाउन सकिन
मैले तिम्रो मानकालागि मान राख्न सकिन 
................................

शव्दभावार्थ
मेन्जोमेन्जो–त्यसै त्यसै
शिसागेन मेन्छ्या–वयस्क तरुनी
नालिगेन थाङ्वेन–वयस्क तन्नेरी
फक्ताङ्लुङ– कुम्भकर्ण हिमाल
माङ्गेना–शिर उठाउनी कर्मकाण्ड

-यो कविता तरुनी तन्नेरीको शिर उठाउने याक्थुङ लिम्बु मुन्धुमको ‘फुङ्वा चाङ्मा’ मुन्धुममा आधारित छ । मुन्धुममा उहिलै आवासो सदेनहाङ्वाले नेत्तिहाङ्मा फुङतीअन्नामा बिच आदिम प्रेम भए पनि वाचाअनुसार पुरा नगरेपछि नेत्तिहाङ्मा फुङतीअन्नामाको शिर ढलेपछि आवासो सोदेनहाङ्वालाई एक्लै छाडेर गएको कथा छ । याक्थुङ मुन्धुम भित्रको तङ्सिङ् तक्मा मुन्धुम अन्तर्गत फुङ्वा–चाङ्मा एउटा महत्वपुर्ण अनुष्ठान हो । फुङ्वा–चाङ्माको सरल शाब्दिक अर्थ ओइलाएको फूललाई प्राकृतिक शक्तिद्वारा पुनः पूर्ववत् अवस्थामा फर्काउने कार्यलाई फुङ्वा–चाङ्मा भनिन्छ । खास गरेर किशोर–किशोरी र तरुण तरुणीमा शारीरिक स्वस्थ्यता एवं सुन्दरता छावोस, उच्च मनोबलका साथ उच्च आकाङ्क्षा वा उद्देश्य दुनियाँसामु सफलतापूर्वक सम्पन्न गर्न सकुन्, जीवन सुखमय र सफल रहनकालागि शिर नढलोस् भनेर गरिने अनुष्ठान नै फुङ्वा–चाङ्मा हो ।’ 

-सेतोपाटीबाट