धरान : प्रगतिशील लोकतान्त्रिक पार्टीको धरान उपमहानगर समिति गठन भएको छ। शनिवार धरान–९ स्थित ह्वाइट डोभ होटेलमा सम्पन्न भेलाले सन्जोग राईलाई धरान उपमहानगर समितिको अध्यक्ष परिषदमा चयन गरेको हो। सचिवमा जेनिस राई चयन भएका छन्।

पार्टीको विधानअनुसार अध्यक्ष परिषदमा थप दुई सदस्य पछि मनोनयन गरिने पार्टीले जनाएको छ। तत्कालीन नेकपा (माओवादी केन्द्र)का नेता जर्नादन शर्मा, सुदन किराती सहितको समूह पार्टी एकताको प्रक्रियाबाट अलग रहँदै गत महिना प्रगतिशील लोकतान्त्रिक पार्टी गठन भएको हो।

धरान उपमहानगर समिति सदस्यहरूमा हेमन राई,अनिल श्रेष्ठ,जगत राई,सुजता राई, सपना बानियाँ, नरेश चौधरी, सुनिता तामाङ,सन्तोष राई, नवराज राई, दुर्गा राई, दीपा राई, बृषिका गजमेर, सुरेन राई र केशव योङहाङ चयन भएका छन्।

नगर समिति गठनसँगै पार्टीले युवा पुस्ता तथा ‘जेनेरेशन जेड’को चासो र आवश्यकतालाई विशेष प्राथमिकता दिने जनाएको छ।

पार्टी गतिविधिहरू वडा तहसम्म विस्तार गर्ने, नियमित जनसम्पर्क कार्यक्रम सञ्चालन गर्ने तथा जनताका दैनिक समस्या पहिचान गरी समाधानतर्फ पहल गर्ने योजना रहेको पार्टीले जनाएको छ।

भेलाका प्रमुख वक्ता पार्टीका केन्द्रीय सदस्य सालिक सतासक रहेका थिए भने स्वागत मन्तव्य केन्द्रीय सदस्य मनिता राई ९जाइका बान्तवा०ले राखेकी थिइन्। केन्द्रीय वक्ताहरूले पुराना राजनीतिक अभ्यासले जनअपेक्षा पूरा गर्न नसकेको र वर्तमान राजनीतिक अवस्थाप्रति जनतामा निराशा बढ्दै गएको धारणा राखे।

उनीहरूले स्पष्ट नीति, इमान्दार नेतृत्व र उत्तरदायी राजनीतिक संस्कारको आवश्यकता औँल्याउँदै प्रगतिशील लोकतान्त्रिक पार्टी जनताको पक्षमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा अगाडि बढेको दाबी गरे। पुरानो र दोहोरिएको नेतृत्वभन्दा माथि उठेर नयाँ सोच, नयाँ ऊर्जा र नयाँ पुस्ताको सहभागितालाई प्राथमिकता दिने नीति पार्टीले लिएको जनाउँदै युवा नेतृत्वले मात्र समाजमा वास्तविक परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गरिएको छ।