धरान : नेपाली काँग्रेसमा २०८३ वैशाख २८-३१ हुने नियमित महाधिवेशन र २०८२ पुस २६-२८ मा बोलाइएको विशेष महाधिवेशनको विवाद जिल्ला देखी स्थानिय तह सम्म पुगेको छ ।

पूर्वमा काँग्रेसका मध्यमार्गी मानिएका प्रभावशाली नेता डा.शेखर कोइराला पछिल्लो समयमा आएर विशेष अधिवेशनको विपक्षमा उभिए पछि अन्यौलता रहेका उनका समर्थकहरू विशेष अधिवेशनको पक्षमा खुल्न थालेका छन् ।

कोइराला निकट मानिएको सुनसरीको क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूले आइतबार बैठकबसी विशेष महाधिवेशनमा सहभागी हुने निर्णय गरेको छ । उनीहरूले विशेष महाधिवेशनमा काँग्रेसले चुनावी गठबन्धन नगर्ने र समानुपातिक उम्मेदवारको बन्दसूचि संशोधन गर्न माग गर्ने निर्णय पनि गरेका छन् ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले विशेष महाधिवेशनका पक्षमा निर्णय गरेको हो । बैठकमा जेनजी आन्दोलन पछि उत्पन्न विषम राजनीतिक परिस्थितिका बिच २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनमत प्राप्त गर्न काँग्रेसको नीति र नेतृत्व परिवर्तन जरुरी भएको बारेमा छलफल भएको थियो ।

बैठकमा कोशी प्रदेश महामन्त्री, महासमिति सदस्य उमेश थापा, महासमिति सदस्यहरू चन्द्रप्रसाद श्रेष्ठ, विनोदकुमार राई, सुवास राई, श्यामा रेग्मी र जगतबहादुर कार्की तथा महाधिवेशन प्रतिनिधिहरू चन्द्र शेखर लामा, सन्दीप श्रेष्ठ, विकास आचार्य, ललिता शर्मा अधिकारी, दिपेशजंग बस्नेत र पूजा धामीले विशेष अधिवेशनको पक्षमा विचार राखेका थिए ।

जिल्ला सचिव माधव घिसिङ, प्रदेशसभा क सभापति अनिल श्रेष्ठ, प्रदेशसभा ख सभापति मुरारीप्रसाद भट्टराई, धरान नगर सभापति श्याम पोखरेल पनि धारणा राखेका थिए ।

बैठकमा जेनजी आन्दोलन पछि उत्पन्न विषम राजनीतिक परिस्थितिमा पार्टीको ४ वर्षे कार्यकाल समेत सकिएको अवस्थामा नीति र नेतृत्व परिवर्तनका लागि गरिएको माग लत्याइएको संस्थापन पक्षलाई आरोप लगाउँदै विशेष अधिवेशनमा सहभागी हुने निर्णय भएको हो ।

सभापति तामाङका अनुसार गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनमा उठान गरिएका सुशासन, भ्रष्टाचारको अन्त्य र वाक स्वतन्त्रताको मुख्य माग सहितका शासकीय सुधारका मागहरूलाई विश्वासिलो ढङ्गले अपनत्व ग्रहण गर्दै पार्टीभित्र सशक्त रूपले उठेका रूपान्तरण र पुस्तान्तरणका आवाजलाई संवोधन गर्न विशेष अधिवेशनमा सहभागी हुने निर्णय गरिएको हो ।