इटहरी : नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले पार्टी भित्र हुकुमी शासन चलिरहेकाले पार्टी सदस्यलाई रैती मान्ने प्रवृत्ति निन्दनीय भएको बताएका छन् ।
विशेष महाधिवेशनको मागगर्ने महाधिवेशन प्रतिनिधिलाई केन्द्रीय समिति मूल नेतृत्वले बेवास्ता गरेको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन्
प्रातः स्मरणीय पिताको एकबर्षको पुण्य तिथिमा मोरङमा रहेका घिमिरेले विशेष महाधिवेशनको मागलाई बेवास्ता गरेर पार्टी अगाडी बढ्न नसक्ने बताएका छन् ।
विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरे दुर्घटना हुने बताउँदै उनले त्यसको जिम्मेवारी नेतृत्व (शेरबहादुर देउवा)ले लिनुपर्ने प्रस्ट पारेका छन् ।
उनले भनेका छन्, ‘नेपाली काँग्रेसले ७५ वर्ष अघि हुकुमी शासनको अन्त्य गरेको थियो ।
अहिले काँग्रेस भित्रै हुकुमी शासन झल्काउने अभ्यास चलिरहेको छ । नेता सरह वा त्यसभन्दा बढी योगदान गरेका पार्टी सदस्यहरूलाई रैती, पार्टीलाई निजी जमिनदारी र घरेलु मामिला ठान्ने प्रवृत्ति सर्वथा निन्दनीय छ ।
विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी पार्टी नेतृत्व अघि बढ्न सक्दैन । कसैले भन्दैमा यसको औचित्य सिद्धिँदैन ।
जबरजस्ती गरे भविष्यमा उत्पन्न हुनसक्ने राजनीतिक दुर्घटनाका लागि नेतृत्व स्वयं जिम्मेवार हुनेछ ।’
नेपाली काँग्रेस विधिको शासनका लागि आठ दशक सङ्घर्ष गरेको पुरानो लोकतान्त्रिक पार्टी भएकाले यसको राजनीतिक साख, प्रतिष्ठा र जना धार अरुदलको भन्दा उच्च एवं व्यापक भएको घिमिरेले बताए ।
काँग्रेस औसत दल होइन भन्ने यथार्थको हेक्का पार्टी नेतृत्वले राख्न सक्नुपर्ने उनको भनाइ छ ।
काँग्रेस भित्र विधिविहिनता र बेथितिले चरम रूप लिएको स्मरण गराउँदै उनले भने, ‘विशेष महाधिवेशनका मागकर्ता पार्टी सदस्यहरू माथि गरिएको बेवास्ता, चरम दुर्व्यवहार र पार्टी विधानको खुला उपहास तथा उल्लङ्घन हो ।
महाधिवेशनको कागजी तालिका न्यूनतम रूपमा लागू समेत नगर्ने र स्वेच्छाचारी रूपमा बदल्दा वा समय सार्दा समेत पार्टी सदस्यहरूलाई सामान्य रूपमा अग्रिम सूचनासम्म नदिने प्रवृत्ति सर्वाधिक अलोकतान्त्रिक मात्र होइन, तानाशाहीपूर्ण र भर्त्सनायोग्य छ ।’