धरान : जेनजीको नाममा गत भदौ २४ गते धरानमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनामा संलग्न रहेको आरोप लागेका हेम सुब्बालाई ‘धरान डे’ को अवसरमा उपमहानगरपालिकाले सम्मानित गरेको छ ।
आइतबार धरान उपमहानगरपालिकाद्वारा आयोजित १२५औँ धरान स्थापना दिवस ‘धरान डे’को अवसरमा पालिका गानमा सङ्गीत भरेका भावना डिजिटल स्टुडियोका सञ्चालक सुब्बालाई सम्मान गरिएको हो ।
नगर प्रमुख साम्पाङको सभापतित्वमा भएको समारोहमा सुब्बालाई कोशी प्रदेश सभा सदस्यद्वय विजय कुमार राई र रमेश बस्नेतले सम्मानित गरेका थिए ।
भदौ २४ गते धरानमा भएको तोडफोड, आगजनी, लुटपाटका घट्नाको बारेमा इलाका प्रहरी कार्यालयमा पीडित पक्ष धरानकी पूर्व उपमेयर एवम् एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारी, एमाले नेता मुरारी सुवेदी, पूर्व सांसद जयकुमार राई, कार्यपालिका सदस्य सिर्जना नेपाल, नेपाली काँग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापा, काँग्रेस सुनसरी क्षेत्र-१ का सभापति सुजेन्द्र गोले तामाङ तथा निवर्तमान उपमेयर भण्डारीको घरमा डेरागरी बस्ने सुनिता पोखरेलले दिएको किटानी जाहेरीमा हेम सुब्बा सहित १३ जनाको नाम किटान गरिएको छ ।
धरान उपमहानगरपालिकाका पूर्व नगर प्रमुख मनोज मेन्याङवो समेतले हेम सुब्बा विरुद्ध गत असोज २ गते किटानी जाहेरी दिएका हुन । भदौ २४ गतेको तोडफोड,आगजनीमा मनोज मेन्याङबोका होटल कञ्चनजंगा तोडफोड र आगजनी गरिनुका साथै नगद ६ लाख रुपैयाँ लुटेर लगेको पनि जाहेरीमा उल्लेख छ ।
सम्मानित हेम सुब्बा गायक एवम् सङ्गीतकार हुन । तर उनी माथी लागेको गम्भीर आरोप सहितको उजुरीबारे न्यायिक निकायबाट सुनवाइ नभई सम्मान गर्ने नगरपालिकाको निर्णयप्रति 'धरान डे' कार्यक्रममा सहभागीहरूले प्रश्न उठाएको पाइयो ।
यसबारे उपप्रमुख अईन्द्र विक्रम बेघासँग प्रश्न गर्दा उनले भने ‘नगर प्रमुख हर्क साम्पाङकै सिफारिसमा सुब्बालाई सम्मान गरिएको हो ।’ नगर प्रमुखको ‘एकल निर्णय’ भएको दाबी गर्दै उनले भने ‘नगरप्रमुख बाहेक अरू कसले गर्छ र ? सबै उहाँकै तजबिजमा चलिरहेको छ, अरूको कुरा सुनुवाइ हुँदैन ।’
धरान उत्सव समारोहमा धरानका पूर्व तथा निवर्तमान नगरप्रमुख र उपप्रमुखहरू केही पनि सहभागी थिएनन् । उनीहरू भदौ २४ को घटनामा आरोपितलाई नगर प्रमुख साम्पाङले सम्मान गर्ने कुरा थाहा पाएर अनुपस्थित भएको बुझिएको छ ।
कार्यक्रममा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरूलाई धरान उत्सवको शुभकामना मन्तव्य समेत राख्ने अवसर नदिएको नेपाली काँग्रेस धरानका सभापति श्याम पोख्रेलले बताए । उनले आरोपित व्यक्तिलाई मुद्दा टुङ्गो नलाग्दै सार्वजनिक रूपमा सम्मान गरिँदा ‘धरान डे’को गरिमामा आँच आएको बताए ।
धरान उत्सवको उद्घाटन समाजसेवी सरला कायस्थले गरेकी थिइन् । कार्यक्रममा धरान उपमहानगरपालिकामा सबै भन्दा बढी कर तिर्ने करदाता बेनिन्द्र कटुवाल, उमेश राई, लक्ष्मी कुमारी उपाध्याय, सुनसरी टेक्निकल कलेज, प्रभु बैङ्क लिमिटेड, एनएमवि बैङ्क लिमिटेड र पालिका गानका सर्जक टिका आत्रेय, व्यवस्थापक राजीव हलवाई, सङ्गीत संयोजन विनायक राईलाई सम्मान गरिएको थियो।


































































