इटहरी : सुनसरीको सीमावर्ती क्षेत्र लौकहीमा बुधवार राति एक सिटी सफारी चालकको गोली हानी हत्या भयो । भारतीय सिमानाबाट चिनी ल्याउँदै गरेका कोशी गाउँपालिका १ का विजय शाहको सशस्त्र प्रहरीले हानेको गोली  लागेर मृत्यु भयो ।

शाहको हत्या पछि लौकही बजार बिहीबार दिनभर तनावग्रस्त बन्यो । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्याँस र केही राउण्ड हवाई फायर समेत चलायो । आफन्त, जनप्रतिनिधि, प्रशासन र सशस्त्र प्रहरी बलका प्रतिनिधि सहितको संयुक्तले छानबिन समिति गठन गर्ने निर्णय गर्‍यो । छानबिनका लागि समिति गठन गरेपछि वरिष्ठ हवल्दार नवराज खतिवडालाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाइएको छ ।

सुनसरीका सहायक सिडिओ घनश्याम न्यौपाने संयोजक रहेको समितिमा डिएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धानका अधिकृत सदस्य छन् । सो समितिले प्रतिवेदन बुझाएपछि मात्र क्षतिपूर्तिको लागि पहल गर्ने उधारो सहमति भएको छ । मृतककी श्रीमतीलाई जागिरको पहल देखि छोरालाई सशस्त्र प्रहरी बलमा भर्ना गर्ने सम्मका सहमति भएका छन् । 

अरूको सामान लिएर आवतजावत गर्ने गरेका शाहको हत्यामा परिवारले अभिभावक मात्र गुमायो । त्यसबाहेक क्षतिपूर्ति पाउन सक्ने आधार कमजोर बनाएर प्रारम्भिक सहमति भएको छ । भरियाको भूमिकामा रहेका शाहको हत्याले सशस्त्र प्रहरीले तस्करी नियन्त्रणको मामलामा प्रश्न उठेको छ । तस्करी नियन्त्रणमा बारम्बार विवादमा आएको सशस्त्र प्रहरीको पछिल्लो गोलिकाण्डले थप आशङ्का जन्माएको छ ।

गोलीकाण्ड सशस्त्र प्रहरीलाई पैसा नदिएको कारण भएको स्थानीयले बताएका छन् । स्थानीयले भारतको बेलाह बजारबाट सामान ल्याएर नेपालमा विक्री गर्ने गरेका छन् । राति ११ बजेपछि ‘लाइन’ खुलेपछि बेलाह बजारबाट दैनिक उपभोग्य सामग्री निर्यात गर्न केही व्यापारी र भरियाहरू पुग्ने गरेका छन् । सोही क्रममा बुधवार राती शाहलाई चिनी बोकेर फर्किँदै गर्दा सशस्त्रले गोली चलाएको थियो ।

गोली चलाउने आदेश कसैले पनि नदिएको र तत्कालीन परिस्थितिले त्यो वातावरण सृजना भएको सशस्त्र प्रहरीको प्रारम्भिक बुझाइ छ । सशस्त्र प्रहरी बलले गोली चल्नुको कारण छानबिन गर्न आन्तरिक छानबिन समिति समेत गठन गरेको छ । छानबिनको लागि एसएसपी रविनराज कर्णजीतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा बराह बाहिनी पकलीका एसपी र कानुन शाखाका डिएसपी सदस्य छन् ।

बराह बाहिनी पकलीका प्रवक्ता तथा एसएसपी सुधीरजङ्ग थापाका अनुसार तस्करको समूहले गोली चलाएपछि जवाफी कारबाही भएको देखिएको छ । सशस्त्र प्रहरीले सामान्य अवस्थामा गोली नचलाउने बताउँदै उनले आफ्नो बचाउको लागि गोली चलाएको बताए ।

कतैबाट निर्देशन नपाएको सशस्त्रले कसरी गोली चलायो भन्नेबारे यकिन हुन सकेको छैन । घटनापछि हिजो नै लौकहीस्थित सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत सबै प्रहरीलाई फिर्ता बोलाइएको छ । बिओपी कमान्डर, गुल्म कमाण्ड र गण कमाण्डरलाई बराह बाहिनी झिकाएर सशस्त्रले अनुसन्धान सुरु गरेको छ।

police-meetingSahamati