झापा : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले झापाका पाँचै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको छ ।
यसैक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट एकल रूपमा सिफारिस गरिएको छ ।
शनिवार सम्पन्न एमाले क्षेत्र नं.५ को क्षेत्रीय समन्वय कमिटी बैठकले अध्यक्ष ओलीलाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो । झापा ५ ओलीको गृह निर्वाचन क्षेत्र हो । उनी २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
दमक-९ स्थित एमाले दमक नगर कमिटीको कार्यालयमा क्षेत्रीय इन्चार्ज नारायणप्रसाद गौतमको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
यसैगरी झापा निर्वाचन क्षेत्र नम्बर १ बाट ८ जनाको नाम सिफारिस गरिएको छ । सिफारिस सूचीमा राजु कार्की, लक्ष्मी राई, घनश्याम अधिकारी, असारु राजवंशी, कृष्ण कनाल, रामचन्द्र उप्रेती, निरु परियार र चन्द्र प्रसाईँ छन् । क्षेत्रीय इन्चार्ज कृष्ण कनालको अध्यक्षतामा मेचीनगर-६ स्थित एमाले मेचीनगर नगर कमिटीको कार्यालयमा बसेको बैठकले उनीहरूको नाम सिफारिस गरेको हो ।
झापा निर्वाचन क्षेत्र नम्बर २ बाट १३ जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा देवराज घिमिरे, अग्नि खरेल, प्रेम गिरी, छबिलाल विश्वकर्मा, अम्बिर लिङ्देन, अमृतलाल राजवंशी, उमानाथ ओली, ज्ञानेन्द्रप्रकाश ओली, पर्वत भण्डारी, रोजिना पाण्डे (महिला), जसमाया गजमेर (महिला), एकराज कार्की र पवित्रा पाठक (महिला) रहेका छन् ।
त्यस्तै झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट दीपक कार्कीसहित पाँच जनाको नाम सिफारिस गरिएको छ । क्षेत्रीय समन्वय कमिटीको बैठकले प्रत्यक्षतर्फ दीपक कार्की, हरिबहादुर राजवंशी, वसन्त बानियाँ, सन्तलाल मेचे र देवेन्द्र आचार्यको नाम सिफारिस गरेको क्षेत्रीय सचिव नरेश चुँडालले जानकारी दिए ।
झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट भने एलपी साँवा लिम्बू, हिराकुमार थापा र भोजकुमारी नेपालको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिएका छन् ।

































































