इटहरी : नेपाली काँग्रेस प्रदेश १ को सभापतिमा गुरुराज घिमिरे पराजित भएका छन् । संस्थापन पक्षमा उम्मेदवार उद्धव थापासँग २ मतले उनी पराजित भएका हुन् ।

चार जना नेताले भोट नगर्नु

चार जना केन्द्रीय नेताहरू सुजता कोइराला, महेश आचार्य, बलबहादुर केसी र डा. शेखर कोइरालाले भोट नदिएकै कारण घिमिरे पराजित भए । २ मतले पराजित भएका घिमिरेको लागि ४ नेताको भोट निर्णायक भयो । तर ब्यालेटमा मतपत्र नपरेपछि गणना हुन सकेन ।

केन्द्रीय सभापतिको दाबी गरिरहेका डा. कोइरालाले भोट नहाल्नु गल्ती भएको स्वीकार गरेका छन् । कानुनी परामर्श गर्दा भोट नहाल्नु उपयुक्त हुने बुझेर मतदान नगरेको उनको तर्क छ । उनै डाक्टरको पहलमा उम्मेदवार भएका घिमिरे काँग्रेस केन्द्रीय सदस्य भइसकेका नेता हुन् । प्रदेशमा जित्न सक्ने उम्मेदवार छनौट गर्दा कोइरालाले घिमिरेलाई नै जोडबल गरेका थिए ।

राजीव कोइराला माथिको धोखा

लामो समय देखी प्रदेश सभापतिको चर्चामा रहेका राजीव कोइरालाले पनि सभापतिको तयारी गरेका थिए । नेताहरूकै परामर्शमा तयारी गरेको बताएका उनले अन्तिम समयमा टिमको उम्मेदवार भएनन् । उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन मात्र घिमिरेको उम्मेदवारी टुङ्गो लाग्यो । उम्मेदवारको निर्णय ढिला हुँदा उद्घाटन सत्रको कार्यक्रम रोकियो । उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै राजीवले पार्टी वडा स्तरसम्म चिराचिरा परेकाले पार्टी एकता गराउन नसक्नेले ठाउँ छाड्न आग्रह गरे । निक्कै आक्रोशित देखिएका उनले सहमति, सहकार्य र एकताको नारा लगाएर कार्यकर्ता विभाजन नगर्न चेतावनी दिए । छोटो भाषण गरेका राजीवले बकवास नगर्न र बोलेको कुरा व्यवहारमा देखाउनुपर्ने भन्दै रोष प्रकट गरे ।

अघि निकै प्रचार गरेका कार्यकर्ता राजीवले टिकट नपाउँदै निक्कै आक्रोशित भए । नेताहरूले सुरुमै हुँदैन भनेको भए आफू तयारीमा नलाग्ने तर अन्तिम समयमा निर्णय आउँदा समस्या भएको उनको भनाई छ । नेताहरूको सोही निर्णयले उनी शिथिल भए । टिमको पक्षमा खुलेर भोट मागेनन् । गुरुराजलाई समर्थन रहेको बताए पनि सक्रिय देखिएनन ।

राजीव निकट दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार र इनरुवाका मेयर राजन मेहताले सिटौला र विजय कुमार गच्छदार सँगको भेटघाट बढाए । सोही दिनको भेटले घिमिरेको पराजयमा मलजल पुर्‍यायो । राजीवले टिकट नपाएको असन्तुष्ट देखिएका उनीहरूले आफ्नै हिसाबमा निर्णय गर्ने छुट पाए । जसको फाइदा थापालाई पुग्यो । सुनसरीबाटै महामन्त्रीका उम्मेदवार रहेका उमेश थापाको विजयीले पनि त्यही सङ्केत गरेको देखिन्छ ।

खड्ग फागोको टिम परिवर्तन

घिमिरेको उम्मेदवारी सँगै टिममा असन्तुलन देखा पर्‍यो । मोरङबाट धेरै उम्मेदवार नहुने भए पनि उर्लाबारीमा मेयर खड्ग फागो सिटौलाको टिममा लागे । कोइराला टिमका प्रभावशाली नेताको रूपमा चिनिएका उनी सिटौलाकै आग्रहमा सह महामन्त्रीको उम्मेदवार भए । सर्वाधिक मत सहित विजयी भएका फागोको व्यवस्थापन नहुनु पनि घिमिरे पराजय माथिको मलजल हो ।  

डाक्टर सुनिल शर्माले कोइराला टिममा प्रभुत्व कायम गरेको भन्दै आफू अन्यत्रै लागेको उनको भनाई छ । टिममा शर्माकै बोलवाला चल्न थालेपछि विकल्प खोजेको उनले सुनाए । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा पराजित शर्मा कोइराला टिमको हर्ताकर्ताको रूपमा उदाएका छन् । नोबेल मेडिकल कलेजका सञ्चालक उनले काँग्रेस भित्र प्रभुत्व कायम गर्ने कोसिस गरिरहेका छन् । उनकै दबाबमा राजीवले टिकट नपाएको सुनसरीका नेता कार्यकर्ताको बुझाई छ ।

१५० बढी मतान्तरले विजयी हुने दाबी गरेको कोइराला समूहलाई घिमिरेको पराजयले झड्का दिएको छ । झापामा विश्वप्रकाश शर्मा समूहले खुलेर सहयोग गर्ने आशा गरे पनि त्यसो हुन सकेन।

मतदानकै समयमा ओखलढुङ्गा र इलामका महाधिवेशन प्रतिनिधिले घिमिरे प्रति आपत्ति जनाएका थिए । आफूहरू घिमिरेलाई मतदान गर्न आएको भए पनि उनले असहयोग गरेको उनीहरूको तर्क थियो । यस्तै सामान्य देखी विशिष्ट कारणको तालमेलले थापाले सभापतिमा बाजी मारेका छन् ।