इटहरी : इटहरी उपमहानगरपालिकाले आयोजना गरेको महिला हिंसा विरुद्धको १६ दिने अभियानको कार्यक्रममा आमाको नामबाट नागरिकता पाउने विषय उठेको छ। नेपालको संविधानमा आमाको नामबाट पनि नागरिकता पाउने व्यवस्था भएको मुद्दाले कार्यक्रममा प्राथमिकता पाएको हो।

बर्षभरि नै सञ्चालन गर्नेगरि सुरु भएको महिला हिंसा विरुद्धको अभियानमा नागरिकतामा सहजीकरण गर्ने विषय अगाडी बढेको छ। इटहरी-४ की रञ्जना राउतले नागरिकता नपाएको कुरा उठेपछि बहस चुलिएको हो । केही वर्षदेखि बा बेपत्ता भएको तर आमाको नामबाट नागरिकता नपाएको उनको गुनासो छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव उपस्थित कार्यक्रममा दुई दिदीबहिनीले नागरिकता नभएका कारण उच्च शिक्षा देखी रोजगारीमा समेत समस्या भएको बताए। आमाको विवाह अगाडीकै नागरिकता भएकाले समस्या बढेको हो।

कार्यक्रममा इटहरीका ४२ जना महिला र ८ जना पुरुषले नागरिकताको प्रमाण पत्र पाउन नसक्दा झेलेको दुःख सुनाएका थिए। सोही कार्यक्रमका धेरैले बुबा बेपत्ता भएका वा नभएका तर आमाका नामबाट नागरिकता पाउन नसकेको समस्या देखाए।

प्रजीअ यादवले नागरिकता प्राप्तिका लागि पुर्‍याउनुपर्ने प्रक्रिया र कागजातका बारेमा प्रष्ट पारेका छन् । संविधानले आमाका नामबाट नागरिकता पाउने व्यवस्था गरे पनि कानुनी जटिलताले समस्या निम्तिएको बताए । नागरिकता सम्बन्धी कानुन बन्ने बित्तिकै नागरिकता दिन सकिने उनको भनाई छ।