विषय प्रवेश :

नेपाली काँग्रेस पार्टीका संस्थापक जन नेता वीपी कोइराला लगायतका अन्य नेता भारतको निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष “राष्ट्रिय एकता तथा मेलमिलाप दिवस” का रूपमा नेपाली काँग्रेस पार्टीले मनाउँदै आएको छ । नेपाली काँग्रेसले पौष १६ गते ४६ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउदैछ ।

वि.सं २०१७ सालमा तत्कालीन सामन्ती एकतन्त्रीय राजा महेन्द्रले तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा प्रथम जन निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय, निरङ्कुश, केन्द्रीकृत र एकात्मक पञ्चायती व्यवस्था सुरु गरे पछि कोइराला सहितका नेतालाई जेल पठाइएको थियो । त्यसपछि विसं २०२५ सालमा वीपी सहितका काँग्रेस नेता भारत प्रवासमा जानु भएको थियो । आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते काँग्रेसका नेताहरू सहित वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायत राष्ट्रिय एकता र मेलमिलापको नीति तथा सन्देश सहित नेपाल फर्किएका थिए ।

नेपालमा आठ वर्ष जेल जीवन बिताइ सकेपछि भारत प्रवासमा गएका नेताहरूमा राष्ट्रियता माथि खतरा देखिएको भन्दै आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति सहित पुन फर्किएका थिए । राष्ट्रियता, प्रजातन्त्र स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गरेका वीपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको राजनैतिक विचार अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद तथा आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै ४६ वर्ष अघि अवलम्बन गरेको नीति वर्तमान परिपेक्षमा पनि सार्थक रहेको देखिन्छ ।

जननेता वीपीको निर्वासन समयका प्रमुख सन्दर्भहरुः

दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन र आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यस बेला स्वदेश फर्किएका काँग्रेस नेता वीपीले मुलुकको सार्वभौमसत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राज शक्ति (राजा) मिल्नु पर्ने धारणा राखेका थिए । तत्कालीन अवस्थामा नेपालको सार्वभौम सत्ता नै गुम्ने खतरा देखे पछि स्वदेश फर्किएका नेता वीपी कोइराला, गणेशमान सिंह लगायतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने बित्तिकै पक्राउ गरी सुन्दरीजल जेलमा बन्दी बनाइएको थियो ।

त्यस बेला बिपीको न पञ्चायतसँग आत्मसमर्पण, न राजासँगको विद्रोह तथा आत्मसमर्पण नै राष्ट्रिय मेलमिलाप नीति थियो । राष्ट्रियता र प्रजातन्त्रसँग कुनै सम्झौता हुन सक्दैन तर राष्ट्रियताका सवालमा मेरो घाँटी राजासँग जोडिएको छ भन्ने वीपीको प्रष्ट धारणा थियो र राष्ट्रियताको सवालमा कुनै सम्झौता गरेनन्। तर तत्कालीन निरङ्कुश राजा र उस्का चम्चेहरुले बुझ्न सकेनन् वा बुझ्न चाहेनन् तथा बुझ्न दिएनन् । काठमाडौँ विमानस्थलबाटै वीपी लगायतको टोली पक्राउ गरेर राज्य द्रोहका मुद्दा ब्युँताइयो जसमा मृत्यु दण्ड सम्मको पनि अभियोग हुन सक्थ्यो तर राष्ट्र र राष्ट्रियताको निमित्त प्रवाह नगरी स्वदेश फर्कनु भयो ।

विपीको राष्ट्रिय मेलमिलापको नीतिलाई पञ्चायत कालभरि अरू राजनीतिक दलले आफ्नो स्वार्थ अनुकूल व्याख्या गरे । पञ्चहरूमा भने वीपीले आफ्नो खाइपाई आएको भाग खोस्ने त्रास थियो तर बिपीले त्यसो गर्नु भएन। कतिपय सन्दर्भमा उदार देखिने स्वर्गीय सूर्यबहादुर थापाले समेत बिपीलाई मृत्युदण्ड दिनुपर्ने विसं २०३४ साल तिर माग गरे । त्यस बेलाका कम्युनिस्टहरूले यसलाई पञ्चायतसँगको आत्मसमर्पणका रूपमा राजासँग घाँटी जोडिएको सन्दर्भलाई उचाल्ने गरे ।

जनक्रान्तिबाट स्थापित भएको काँग्रेस मूलतः क्रान्तिकै माध्यमबाट पञ्चायत समाप्त गर्न चाहन्थ्यो। २००७ सालमा जस्तो आउट पोस्ट कब्जा गर्न सहज थिएन त्यति वेला । राजा समाप्त भए पञ्चायत समाप्त हुन्छ भन्ने सम्मको सोच काँग्रेसमा देखिन्थ्यो। राजा महेन्द्रमाथि जनकपुरमा भएको बम आक्रमण यसको उदाहरणको रूपमा लिन सकिन्छ । तर भारतमा सर्वशक्तिमान् बन्दै गएकी इन्दिरा गान्धी नेपालका सन्दर्भमा उनका बाबु जवाहरलाल नेहरुकै रूपमा प्रकट हुन चाहन्थिन् तथा नेपाललाई अर्ध उपनिवेश बनाउँदै सिक्किमीकरण गर्न चाहन्थिन तर बिपीले स्वीकार गरेनन् ।

नेपाल भारत अधीनस्थ लोकतन्त्रका पक्षमा उनको प्रस्ताव थियो। राजासँगको लडाइँमा काँग्रेस कमजोर पक्कै भएको थियो। तर राष्ट्र र राष्ट्रियताका पक्षमा प्रथम जन निर्वाचित प्रधानमन्त्री हुँदा नेहरु र माओत्सेतुङसँग समेत सम्झौता नगरेका वीपी कोइरालालाई इन्दिराको प्रस्ताव फेरि पनि स्वीकार्य भएन र अन्ततः राष्ट्रिय मेलमिलाप नीति लिएर निर्वासनबाट स्वदेश फिर्ता आए।

वीपीको राष्ट्रिय मेलमिलाप दिवसको सार्थकता

वर्तमान समयमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र लोकतान्त्रिक अधिकार गुम्न नदिन एकात्मक बाम लगायत दक्षिण पन्थीहरूलाई वर्तमान परिपेक्षमा जोडदार खबरदारी गर्नु पर्ने बेला आएको छ । लोकतन्त्र र राष्ट्रियताको विषयमा फेरि पनि बहसमा आउँदा मुलुकका दलहरूबिचको वैचारिक, सङ्गठनात्मक र नीतिगत बहसको आवश्यक हुनसक्छ र यो वर्तमान परिपेक्षमा प्रकट भएको देखिन्छ ।

दुई तिहाइ हाराहारीको बहुमत सत्ता रहेको तत्कालीन डब्बल नेकपाका लागि कसैसँग कुनै सहकार्य गर्नु पर्ने आवश्यकता थिएन तर आन्तरिक कलह र झगडाका कारणले विसं २०७७ साल पौष ५ र मिति: २०७८ साल ज्येष्ठ ८ गते का दिन पुन दोस्रो चरणको प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मार्फत राष्ट्रपति विद्यादेवि भण्डारीलाई सिफारिस गरेका थिए ।

राष्ट्रपति मार्फत प्रधानमन्त्रीको सिफारिस अनुरूप प्रतिनिधि सभा विघटनको स्वीकृत गर्दै मिति: २०७८ साल मङ्सिर ३ गतेका लागि अर्को औचित्य विहीन मध्यावधि निर्वाचनको समय तोकिएको थियो ।तत्कालीन अवस्थामा काँग्रेस कमजोर प्रतिपक्षका रूपमा देखा परी रहेको थियो । विगतको निर्वाचनमा काँग्रेसले आफ्ना पक्षका मत गुम्न नदिए पनि उसको हातबाट सत्ता त गुमेकै थियो, प्रतिपक्षको भूमिकामा पनि कमजोर उपस्थिति रहेकै थियो।काँग्रेसले जनरूपमा संसद्मा प्रमुख प्रतिपक्ष रहेको अनुभूति नागरिक तहमा गराउन सकिरहेको थिएन भन्ने आरोप लाग्दै आएको थियो।

त्यसै सन्दर्भमा राष्ट्र र राष्ट्रियताको सवालमा एक रति पनि दायाँबायाँ नगरी प्रतिगमन विरोधी राजनैतिक दलका शक्तिहरू सङ्घीय गणतान्त्रिक संविधानको रक्षार्थ एक मत भएर नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन भएको छ पार्टीका धेरै कार्यकर्ताहरू माझ १४ औँ अधिवेशनबाट सृजित एक आपसी भ्रम, मनमुटाब र अविश्वासका मनका खाडलहरू पक्कै पुरिन समय लाग्नेछ तथापि यो राष्ट्रिय मेलमिलाप दिवसको मूल सन्देश र सार्थक रूप भनेको कार्यकर्ताहरूको आपसी मनमुटाब, भ्रम र अविश्वासका मनका खाडलहरू पुरिन पर्दछ ।

पार्टीले आफू सुदृढ भएको सन्देश दिन पार्टी भित्रका स्वार्थ समूहलाई कमजोर बनाउँदै एउटै स्वार्थका लागि काँग्रेसमा एकता भएको सन्देश दिनु मेलमिलाप दिवसको पहिलो सर्त रहनु पर्दछ । कम्युनिस्ट पार्टीभित्रको विग्रहले गर्दा निर्माण हुन गएको वैकल्पिक सरकार सञ्चालनको अपेक्षा मात्र काँग्रेसले कदापि राख्न हुँदैन । आगामी दिनमा आउन लागेको तिनै तहको निर्वाचनहरूको परिणाम पार्टीको पक्षमा यानेकी ७५३ स्थानीय तहहरूमा धेरै भन्दा धरै विजय गराउँदै र प्रदेश तथा सङ्घमा एकल बहुमतको परिणाम मुखी बनाउन प्रेरणा प्रदान गर्नु पर्दछ । यसरी नै मुलुकको सार्वभौमसत्ताको रक्षा गर्न जनताकै बिचमा सदा रहनु पर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका सबै नेताहरूको मेलमिलापको नीतिको भरमग्दुर उपयोग गर्दै जनताहरूको माझमा जानलाई खुट्टा नकमाईकन दह्रो बनाउने यही प्रेरणा मिलोस् दिवस मार्फत ।

उपशंहारः

हिले विसं २०७९ साल वैशाखमा स्थानीय तहको निर्वाचनको तयारी प्रति नेपाली काँग्रेस पार्टीको उच्चतम राजनैतिक रूपमा जनताको ताजा जनादेश लिएर जन अनुमोदित हुन सार्थकता प्रदान गरोस् । देश र जनतालाई असंवैधानिक वन्दिबाट निकास दिने संवैधानिक प्रावधान तथा लोकतान्त्रिक विधि र प्रक्रियाको महत्त्वपूर्ण औजार भनेको नै निर्वाचन हो । कम्युनिस्टहरू भनेको अहिले भागबण्डा र कुर्सीको खिचातानीमा मात्र विवाद गरी रहेका छन् यानेकी स्वार्थमा उनीहरू बिच कुनै वैचारिक विवाद छैन । विगत देखिनै नेपाली काँग्रेस भनेको मुलुकमा जब जब सङ्कट आइ पर्छ, नेपाली जनताको भरोसाको पार्टी बन्दै आएकै हो । अहिले अवसर र चुनौती दुवै आएको छ । त्यसैले गर्दा नेपालको संविधानको प्रभावकारी कार्यान्वयन गरी लोकतन्त्रको रक्षा र पहरेदारको लागि यो महत्त्वपूर्ण अवसरको रूपमा काँग्रेसको लिन सकोस् । यो ४६ औँ राष्ट्रिय मेलमिलाप दिवसलाई अवसरका रूपमा प्रयोग गरेर आगामी आउन लागेको तीन तहको निर्वाचनलाई भरमग्दुर पार्टीको पक्षमा उपयोग गर्ने प्रेरणा प्रदान गर्न राष्ट्रिय मेलमिलाप दिवसको अवसरलाई सार्थकता प्रदान गरोस् ।

Nanda-kumar-nembangEmail: nandanembang@gmail.com