धरान : धरानमा जारी २२ औँ गोधुली रनिङ कप फुटबल प्रतियोगितामा वडा नं १६ र १४ विजयी भएका छन् ।

धरान-१६ स्थित रङ्गशालामा सोमबार दुई खेलमा भएको थियो । पहिलो खेलमा वडा नं १६ ले वडा १२ लाई ४-० गोल अन्तरले हराएको थियो । वडा १६ को जितमा सरोज लकान्द्रीले ह्याट्रिक गरेका थिए ।

प्रतियोगितामा पहिलो ह्याट्रिक गर्ने क्रममा उनले पहिलो हाफको २५ औँ, दोस्रो हाफको ५९ औँ र ६७ औँ मिनेटमा गोल गरेका थिए । खेलमा थप एक गोल मनिष बस्नेतले ७० औँ मिनेटमा गरेका थिए । उक्त खेलको म्यान अफ दि म्याच ह्याट्रिक गर्ने सरोज लकान्द्री घोषित भए । उनले नगद १५ सय हात पारे ।

यस्तै सोमबार नै सम्पन्न दोस्रो खेलमा वडा नं १ लाई ३-० गोल अन्तरले हराउँदै वडा नं १४ विजयी भएको छ ।
वडा १४ को जितमा विटु तामाङले ७ औँ मिनेटमा पहिलो गोल गरी खाता खोलेका थिए भने विपिन श्रेष्ठले २ गोल गरे ।

विपिनले खेलको ८४ औँ र ८८ औँ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच वडा नं १४ को सन्दीप राई घोषित भए ।

प्रतियोगितामा मङ्गलवारको पहिलो खेल वडा नं १३ र २ बिच दिउसो १ बजे हुनेछ भने दोस्रो खेल वडा नं १८ र वडा ५ बिच दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ ।