इटहरी : नेकपा एमाले सुनसरीको अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। सचिव र विभिन्न कोटाका १६ सदस्य बाहेक अन्य पदाधिकारी र सदस्यमा चुनाव हुने भएको हो । केन्द्रीय नेताहरूको पहलमा सचिवमा पर्शुराम यादव सर्वसम्मत भएका छन्।

शुक्रवारबाट सुरु भएको अधिवेशन अन्तरगत मंगलबार निर्वाचनबाट नेतृत्व चयन हुने भएको छ। अध्यक्ष लगायतका पदाधिकारीमा सहमति गरेर सदस्यमा मात्र निर्वाचन गराउने नेताहरूको योजना असफल भएको छ।

सोमबार ३ बजे सार्वजनिक भएको उम्मेद्बारको अन्तिम नामावलीमा अध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ। पूर्व अध्यक्षहरू रेवतिरमण भण्डारी र द्वारिकलाल चौधरी र हालका अध्यक्ष खेमराज पोखरेलले उम्मेदवारी दिएका छन् । तिनै जना चुनावी मैदानमा भएपछि रोचक प्रतिस्पर्धा हुने भएको छ। १ उपाध्यक्षको लागि नन्द बस्नेत र निलम खनालको उम्मेदवारी परेको छ भने २ उपसचिवमा आधा दर्जन बढी उम्मेदवार रहेका छन् ।

अध्यक्षमा इटहरी उपमहानगरपालिकाका मेयर समेत रहेका चौधरीले चर्चित भएकै हिसाबमा आफूलाई बलियो उम्मेद्बारको रूपमा देखाएका छन् । तथापि पार्टीभित्र उनको प्रभाव कमजोर स्थितिमा देखिन्छ । १० बूँदे सहमतिको पक्षमा भएका केही र चौधरी समुदायका केही प्रतिनिधिको साथ पाउने अवस्थामा छन् चौधरी।

तर १० बूँदे पक्षधरका मुख्य उम्मेदवार हुन् पोखरेल । पोखरेलले आयोजक कमिटीमा आफू निकट कार्यकर्ता राखेको हुँदा उनलाई त्यसैको आस देखिन्छ । चौधरी र पोखरेललाई आउने मत एउटै समूहको भएको कारण भण्डारीलाई फाइदा पुग्ने देखिन्छ। चौधरीले आफूलाई व्यवस्थापन गर्ने विश्वासिलो वचन नपाएपछि उम्मेदवारी फिर्ता लिएनन् । तर त्यसको घाटा पोखरेललाई पर्ने देखिन्छ ।

चौधरी र भण्डारी इटहरीका हुन्। पुनः इटहरीको मेयरको आकाङ्क्षी देखिएका उनले शीर्ष नेताहरूबाट त्यसको बाचा खोजेका थिए । त्यसको लागी माधव नेपाललाई भेट्ने देखी अधिवेशनमा बागी उम्मेदवार खडा गर्ने काममा लागेका छन् उनी।

उता एमाले पूर्व सचिव तथा प्रदेश १ का पूर्व मुख्यमन्त्री भीम आचार्यले समेत भित्री सक्रियता देखाएका छन्। महाधिवेशन उद्घाटन सत्रमा समेत उपस्थित नभएका उनी भण्डारी विरुद्धको मोर्चा बन्दीमा छन्।

लामो समयदेखि भण्डारीले आलोचना गरेको र प्रदेश १ संसदीय दलको नेतामा पराजित गरेको बदला लिन लागिपरेका छन् उनी। आचार्य पक्षीय नेताहरू एकीकृत समाजवादीमा प्रवेश गरिरहेको अवस्थामा उनी कमजोर बन्दै गएका छन्। भर्खरै सचिवमा पराजित भएका उनी सुनसरीमा पनि कमजोर अवस्थामा छन्।

पुनः भण्डारी अध्यक्ष भए आफू झनै कमजोर हुने उनको बुझाई छ। पोखरेलको नाममा सहमति जुटे केही ढाडस मिल्ने बुझेका उनी लगायत केही नेताहरू भण्डारीका विरुद्धमा लागेका हुन । पोखरेल र चौधरी दुवै उम्मेदवार हुँदा भण्डारी पराजित हुनसक्ने आचार्य समूहको बुझाइ छ ।

सुनसरी सह-इन्चार्ज भगवती चौधरी, हालका उपसचिव लिलाम बस्नेतले पनि भण्डारी विरोधी मोर्चामा छन् । त्यसबाहेक पूर्व अध्यक्ष रमेश बस्नेतले पनि पोखरेललाई वा चौधरीलाई नै समर्थन गर्ने देखिन्छ। कार्यकर्तामाझ लोकप्रिय देखिएका भण्डारी पोखरेल र चौधरी भन्दा बलिया उम्मेदवार हुन्।

सुनसरी क्षेत्र नम्बर १ बाहेक अन्यत्र भण्डारीको बलियो पकड छ। सुनसरी क्षेत्र नम्बर २ को प्रतिनिधिसभाको उम्मेदवार भण्डारीलाई बनाएर पोखरेललाई अध्यक्ष दिने प्रयास समेत गरिएको छ। तर भण्डारी पछि हुने निर्वाचनको विषयमा अहिल्यै टिकट वितरण गर्न नसकिने बताउँछन्।

पोखरेल अन्तिम समयसम्मै सहमतिको लाइनमा देखिएका थिए । निर्वाचनमा जाँदा आफू विजयी हुनेमा ढुक्क नभएका उनी सहमतिलाई जोड दिइरहेका थिए । तथापि उनले उम्मेदवारी भने फिर्ता लिएनन् ।

प्रदेश १ का महत्त्वपूर्ण मानिएका झापा मोरङ र सुनसरी मध्ये सुनसरीमा मात्र निर्वाचन हुने भएको छ । मोरङ अध्यक्षमा ऋषीकेश पोखरेल र झापामा दीपक कार्की सर्वसम्मत अध्यक्ष चयन भएका छन्।