धरान : धरान उपमहानगरपालिकाले वडामा भएका विकास निर्माण, जनताको सुझाव तथा गुनासोको बारेमा वडामै गएर अन्तरक्रिया कार्यक्रम गर्न थालेको छ।

मेयर तिलक राईको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, शिक्षा तथा खेलकुद महाशाखा प्रमुख रत्न कटुवाल, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता सहितको टोलीले हिजो धरान वडा नं. ६ पानवारीमा गएर त्यहाँका वडाध्यक्ष तथा जनप्रतिनिधि, नागरिक अगुवा, समाजसेवी तथा बुद्धिजीवी, वडाका राजनीतिक दलका प्रतिनिधि र टोल विकास संस्थाका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरेको छ।

मेयर राईका अनुसार उपमहानगरपालिका र वडा कार्यालयले दिएको सेवा सुविधाको विषयमा स्थानीय बासीसँग स्थलगत रूपमा भेटेर अन्तरक्रिया गर्ने आन्तरिक तयारी गरिएको थियो । त्यसै अनुरूप हिजो वडा नं. ६ पानवारीबाट सुरु गरिएको मेयर राईले जानकारी दिए। २० वटै वडामा पुगेर त्यहाँका स्थानीय बासीको सुझाव, जिज्ञासा तथा गुनासोलाई सम्बोधन गरिने मेयर राईको भनाई छ।

स्थानीयबासीहरुले नगरपालिकाको घर नक्सामा फाइल नभेटिएको, बोलाएको समयमा प्राविधिक नआएका कारण घर नक्सा पास नभएको गुनासो पोखे । नगरपालिकाले यस विषयमा चाडै समस्या समाधान गर्नुपर्ने उनीहरूको भनाई छ ।

यस्तै मदन भण्डारी राजमार्गको मापदण्ड यकिन नभएका कारण कर तिर्न नपाएको, श्री सरस्वती मा. वि.मा कक्षा कोठा अभाव तथा भवनको समस्या र शान्ति मन्त्रालयबाट रकम हराएको भनी स्थानीयबासीहरुले समस्या व्यक्त गरे ।

उनीहरूले पानवारी चौक स्थित बिजुलीको पोल ढल्नसक्ने र उक्त पोलका कारण तिन घर परिवार जोखिममा पर्न सक्ने गुनासो सुनाए । उक्त बिजुलीको पोललाई चाडै व्यवस्थापन गर्न पनि आग्रह गरे । यस्तै गरी, उनीहरूले ज्येष्ठ नागरिक भवनलाई पनि नगरपालिकाले प्राथमिकतामा राख्नुपर्ने माग गरे ।

मेयर राईले प्राथमिकिकरण गरेर २० वटा वडामा राजश्व, भूगोल, जनसङ्ख्या हेरेर बजेट छुट्टाएको जानकारी दिए । साबिक विष्णुपादुका र पाँचकन्या गाविसमा पाँच वटा वडा छन् । त्यसमा साबिक पाँचकन्यामा ४, ५, ६ र विष्णुपादुकामा एउटा सिङ्गो २० र १७ को पटनाली पर्छ ।

उपमहानगरपालिकाले अरू वडाको तुलनामा यी पाँच वटा वडामा २०/२० लाख बजेट बढी दिएको मेयर राईले बताए । उपमहानगरपालिकाले सबै वडालाई हेरेको बताउँदै मेयर राईले आवश्यकताहरू बढी भएको हुनाले विविध कारणले गर्दा स्रोतहरू बढाउन नसकेको बताए ।