इटहरी : नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी बुलेट खतिवडालाई बिमा बापतको रकम हस्तान्तरण गरेको छ ।

बुधवार खतिवडाकै घरमा गएर युनियन कार्यसमितिले बिमा बापतको रकम हस्तान्तरण गरेको हो । प्रेस युनियन सुनसरीका सचिव विवेक भट्टराईका अनुसार दुर्घटना बापतको ७० हजार रुपैयाँ रकम हस्तान्तरण गरिएको हो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खड्का, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष गणेश निरौला, महासङ्घका सचिव ध्रुव ढकाल, महासङ्घका सदस्य विवेक विवश रेग्मी, पत्रकार द्वय बाबुराम सुवेदी, अर्जुन सुवेदी लगायतको उपस्थितिमा उक्त बिमा बापतको रकम हस्तान्तरण गरिएको हो ।

‘अघिल्लो वर्ष जिल्लाका तीन सय १४ सञ्चारकर्मीको दुर्घटना बिमा गरिएको थियो, जसमध्ये दुर्घटनामा परेका तीनजना सञ्चारकर्मीलाई रकम हस्तान्तरण गरिएको छ भने एक जनाको रकम आउने प्रक्रियामा छ,’ सचिव भट्टराईले भने, ‘अजोड इन्स्योरेन्स मार्फत गरिएको बिमा यस पटक पनि गर्ने तयारीमा छौ ।’ उनका अनुसार यस पटक दुर्घटना बिमाका लागि सुनसरीमा कार्यरत सञ्चारकर्मीले आफू कार्यरत सञ्चार गृहको परिचयपत्र, आफू कार्यरत सञ्चार गृहको सिफारिस, सञ्चार गृहको नियुक्ति पत्र, नागरिकताको प्रतिलिपि आवश्यक पर्नेछ । यस्तै, दुई प्रति पासपोर्ट साइजको फोटो पनि आवश्यक पर्ने उनले बताए ।

आफैँ कार्यरत सञ्चार गृहले दुर्घटना बिमा गरिसकेको अवस्थामा दोहोर्‍याएर पेस गरे मान्य नहुने बताइएको छ।
प्रेस युनियनका अध्यक्ष पवन अधिकारीका अनुसार गत वर्ष युनियनले जिल्लाका सञ्चारकर्मीको दुर्घटना बिमा गरेको थियो । ‘यस वर्ष परिमार्जित योजना अनुरूप दुर्घटना बिमा गर्ने तयारी गरेका छौँ,’ उनले भने, ‘भरसक कसैको पनि दुर्घटना नहोस्, दुर्घटना भएको अवस्थामा केही राहत होस् भन्ने उद्देश्यले बिमा कार्यक्रम अगाडि सारिएको हो ।’ उनका अनुसार यस वर्ष दुर्घटना बिमा गरिएका सञ्चारकर्मीहरू दुर्घटनामा परेको अवस्थामा मिडिया हाउसबाट पाइरहेको न्यूनतम पारिश्रमिक समेत पाउने योजना अनुसार बिमा गर्न लागिएको छ ।

पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खड्काले दुर्घटनामा परेर बसेको समयमा राहत महसुस हुने गरी युनियनले दुर्घटना बीमाको योजना ल्याउनु सकारात्मक रहेको बताए । उनले भने, ‘पैसा ठुलो कुरा होइन, संस्थाको दायित्व र यसले गर्ने सपोर्ट ठुलो कुरा हो ।’ कोही सञ्चारकर्मी दुःखमा परेको अवस्थामा सङ्गठन साथ रहनु सकारात्मक रहेको उनको तर्क छ।