धरान : मोरङको धनपालथान गाउँपालिका-७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा दुई वटा शव भेटिएको छ ।

उखुबारीमा रहेका दुई खाल्डामध्ये एउटामा बुधवार शव भेटिएको थियो भने अर्को खाल्डोमा बिहीबार उत्खनन गरिएको थियो । बिहीबार उत्खनन गरिएको खाल्डोमा पनि शव भेटिएको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन बिसीले जानकारी दिए ।

प्रहरीले शव खाल्डोबाट बाहिर निकालेको छैन । अहिले तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली पनि घटनास्थलमा पुगेको छ । बुधवार प्रहरीले खाल्डोबाट अन्दाजी ३०-३५ वर्षीय पुरुषको शव फेला पारेको थियो । दुवै शव एकै पटक खाल्डो खनेर पुरेको हुन सक्ने प्रहरीको भनाइ छ ।

खाल्डोमा शव गाडेर नुन पनि हालेको पाइएको प्रहरीको भनाइ छ । शवको पहिचान भइसकेको छैन । शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुनसक्ने प्रहरीले बताएको छ । प्रहरीका अनुसार दुई खाल्डो उखुबारीमा करिब २० मिटरको दूरीमा छन् ।

Sab-Bhetiyo-1