धरान : नेपालमा कँहीपनि नपाइने धरान स्थित प्रसिद्ध बुढासुब्बा मन्दिर परिसरको टुप्पो नहुने बाँसको प्रजाति सिमेन्टका संरचनाहरू निर्माण भएकाले नष्ट हुने अवस्थामा पुगेको वनस्पति विज्ञाले प्रारम्भिक अनुमान गरेका छन् । नेपालको चर्चित धार्मिक स्थल बुढासुब्बाको आकर्षणहरू मध्ये टुप्पो नहुने बाँस पनि एक हो । परिसरमा मन्दिर अगाडि र पश्चिमोत्तर तर्फ बाँसका तिन ठुला झ्याङहरू छन् ।

दशक यता बाँसमा नयाँ तामा नलाग्दा झ्याङको बिच भाग खाली हुँदै आएको छ । झ्याङको वरिपरि ढुङ्गा-सिमेन्टको टेवा पर्खाल लगाइएको अवस्थामा बाँस बिस्तारै नष्ट हुने चिन्ता बढको छ । यसबारे मन्दिरका पुजारी परिवारले उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएपछि मेयर तिलक राईले दुई पटक स्थलगत अवलोकन गरी संरक्षणको आवश्यक उपाय खोजिने वचन दिएका छन् ।

मेयर राई बिहीबार केन्द्रीय प्रविधि क्याम्पसका वनस्पति शास्त्रका प्राध्यापक सञ्जु पराजुलीलाई लिएर बाँसको अवलोकन गर्न दोस्रो पटक पुगे। वनस्पति विज्ञ पराजुली, मन्दिरका पुजारी उत्तम आले, नर्सरी व्यवसायी प्रेमप्रसाद पराजुली सहितको टोलीसँग उनले बाँसको अध्ययन गरी अवस्था र संरक्षणका उपाय बारे लिखित प्रतिवेदन उपमहानगरपालिकामा प्रस्तुत गर्न आग्रह गरेका छन् ।

बाँसको अहिलेको अवस्था अवलोकन पछि प्राध्यापक पराजुलीले बाँसको झ्याङलाई घेरावारा गरी सिमेन्टको पर्खाल लगाएकोले नयाँ बाँस पलाउन नसकेको प्रारम्भिक धारणा सुनाइन् । उनका अनुसार बाँसको वंश वृद्धिका लागि सूर्यको प्रकाश र पानी आवश्यक हुन्छ । बुढासुब्बाको बाँसका झ्याङहरू बढेर प्रकाशको अभाव भएकोले बिचका भागमा नयाँ बाँस पलाउन नसकेको हो । सिमेन्टको संरचनाले पर्याप्त पानी सोसेर राख्ने प्रक्रिया पनि अवरुद्ध भएको आशङ्का गरिएको छ ।

बाँसको प्राकृतिक विकास झ्याङ बढ्दै गएपछि सूर्यको प्रकाश जतातिर बढी हुन्छ त्यतैतिर नयाँ झ्याङ बढ्दै जाने स्वभाव हुने बताउँदै वनस्पति विज्ञ पराजुलीले भनिन् ‘यहाँ बाँस झ्याङलाई घेरावारा गरी सिमेन्टको पर्खाल लगाएकोले प्राकृतिक रूपमा बाँस अघि बढ्न पाएको देखिएन ।

’यस्तै अवस्था रहेमा नयाँ बाँस पलाउने प्रक्रिया अवरुद्ध हुनसक्छ । बिचमा सुकेका बाँसहरू अवधिक रूपमा निकाल्नु पर्नेमा झ्याङमा त्यस्ता बाँसहरू त्यतिकै रहेकोमा पनि उनले ध्यानाकर्षण गराइन् । पुजारी उत्तम आलेका अनुसार गएको ७/८ वर्षयता बुढासुब्बाको बाँसका झ्याङहरू बिचमा नयाँ तामा नलागी खाली हुँदै गएको देखिन थालेको हो । हरियो बाँसका बोटहरूमा खोपेर श्रद्धालु युवा युवतीले प्रेमको चिनो स्वरूप नाम लेख्ने प्रचलन बढेको थियो ।

त्यसले बाँसको वृद्धिमा असर पुर्‍याएको अनुमान गरी बाँस खोप्न प्रतिबन्ध लगाइएको थियो । त्यसै अवधिमा सिमेन्टको दुई देखी तीन फिट सम्मको टेवा उठाएर बाँसलाई तार जाली समेत लगाइएको हो । उनले भने ‘विजयपुरका मगर परिवारका तेह्र पुस्ता अहिले बुढा सुब्बाको परम्परागत पूजा अर्चना धान्दै आएको छ । बाँसको समस्या पहिलो पटक देखियो ।’

बुढासुब्बाको टुप्पो विनाको बाँसको प्रजातिका बारेमा आधिकारिक जानकारी दिने कार्य कोही विज्ञले गरेको पाइन्न । पहाडी क्षेत्रमा पाइने भालु बाँस प्रकृतिको उक्त बाँस भालु बाँस भने नभएको नर्सरी विज्ञ प्रेमप्रसाद पराजुलीले बताए । भालु बाँसमा सुके पनि कढा पन यथावत् रहन्छ । बुढासुब्बाको सुकेको बाँस भने फोस्रो भएको पाइएको छ । उनले भने ‘यो बाँस कतै नपाइने लोप हुन लागेको बाँसको प्रजाति पनि हुनसक्छ ।’

पुजारी आलेका अनुसार उक्त बाँस नष्ट हुन नदिन वृक्षारोपण पनि गरिएको थियो । तर परम्परागत विश्वास अनुसार बुढासुब्बाको पुराना बाँस वैशाख पूर्णेको अघिल्लो दिन मात्र काट्ने चलन छ। त्यस अघि पछि काट्न हुन्न । असार साउन तिर गरिनुपर्ने काम चैत वैशाखमा गरिएकोले हुनसक्छ नयाँ वृक्षारोपणबाट नयाँ बाँस पलाएन। नर्सरीका व्यवसायी समेत रहेका पराजुलीका अनुसार बुढा सुब्बाको बाँसलाई टिस्यु कल्चर गरेर वा ग्रिन हाउसमा बेर्ना उमार्ने प्रयास गरेर नयाँ बाँसको वृक्षारोपण गर्ने सम्भावना छ।

बुढासुब्बा परिसरमा भएको संक्षिप्त छलफलमा बाँस झ्याङ घेरेर बनाइएको सिमेन्ट ढुङ्गाको टेवा पर्खाल हटाएर बाँसको जाली बनाएर टेवा लगाउन उपयुक्त हुने प्रस्ताव आएको छ । यसबारे बाँसको विकास र संरक्षणका विस्तृत प्रस्ताव उपमहानगरपालिकामा पेस भएपछि आवश्यक संरक्षण कार्य तत्काल सुरु गरिने निष्कर्ष निकालिएको छ ।

Budhasubba 1