विराटनगर: पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका अर्का सञ्चारकर्मी रवि लामिछानेको रिहाईको माग गर्दै उनका समर्थकहरुले विराटनगरमा पनि प्रर्दशन गरेका छन् ।

आज शुक्रबार लामिछानेका समर्थकहरुले १ नं प्रदेशको राजधानी विराटनगरमा पनि प्रर्दशन गरेका हुन् । लामिछानेसहित ३ जना एक साताभन्दा बढी समयदेखि चितवन प्रहरीको हिरासतमा छन् । उनीहरुलाई पुडासैनीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप छ । नयाँ मुलुकी संहिताले कसैलाई आत्महत्या गर्न बाध्य पारेमा दुरुत्साहन अभियोगमा कारबाही हुने व्यवस्था छ । लामिछाने पक्राउ परेदेखि नै चितवनमा उनका समर्थकहरुले प्रर्दशन गरेका थिए भने देशका अन्य भुभागमा पनि निरन्तर प्रर्दशन भएको थियो ।

Ravi-brt

विराटनगरमा पनि शुक्रबार लामिछानेका समर्थकहरुले दबाबमुलक र्याली निकाले । विराटनगरको ट्राफिक चोकबाट जनदबावसहितको र्यालीका सहभागीहरुले राष्ट्रिय झण्डा र प्ले कार्डसमेत बोकेका थिए । लामिछानेलाई फसाउने प्रयास भएको दाबी गर्दै विराटनगरका युवाहरुले दबाबमुलक प्रदर्शन गरेको जनाएका छन् ।

गएको साउन २१ मा चितवनस्थित होटल कंगारुमा पुडासैनीको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । उनको साथमा भएको मोवाइलमा पुडासैनीले भिडियो रेडर्क गरेको क्लिपहरु प्रहरीले फेला पारेको थियो । जसमा पुडासैनीले आफ्नो आत्महत्याको जिम्मेवार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्की भएको र उनीहरुलाई कारबाही हुनुपर्ने माग गरेका छन् । यही भिडियोको आधारमा प्रहरीले लामिछानेसहित ३ जनालाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको हो । उनीहरुविरुद्ध पुडासैनीकै पत्नीले प्रहरीले किटानी जाहेरी पनि दिएकी थिइन् । तस्बिर स्रोत: आवरविराटनगर