धरान: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही बन्न खोजिरहेको गम्भीर आरोप लगाएका छन् ।

धरानमा बुधबार आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता पौडेलले प्रधानमन्त्री ओलीमाथि यस्तो गम्भीर आरोप लगाएका हुन् । उनले प्रधानमन्त्रीले संसदलाई छलेर अध्यादेशमार्फत संवैधानिक परिषदलाई आफ्नो कब्जामा पार्न खोजिरहेको भन्दै प्रधानमन्त्री ओली नेतृत्वको सरकार तानाशाहीको बाटोमा अघि बढेको टिप्पणी गरे । ‘संसदलाई छलेर अध्यादेशमार्फत ओली जीले संवैधानिक परिषदलाई आफ्नो मुठिभित्र पार्ने कोसिस हुदैछ, ओली जी र यो सरकार तानाशाही हुदैछ,’नेता पौडेलले भने,‘प्रेस स्वतन्त्रता, मानवअधिकार आयोगको अधिकार पनि कुण्ठित हुने गरी विधेयक ल्याइएको छ, यसले दुई तिहाईको सरकार सर्वसत्तावादतर्पm गइरहेको प्रष्ट भएको छ ।’

नेता पौडेलले अहिलेको उपनिर्वाचन कम्युनिष्ट र प्रजातन्त्रबीचको जनमत पनि भएकोले प्रजातन्त्रलाई जोगाउन चाहनेहरुले कांग्रेसलाई भोट हाल्न पनि आग्रह गरे । साथै उनले कम्युनिष्टलाई भोट दिनु भनेको प्रजातन्त्रको हत्या गरे सरह हुने वा आफैले आत्महत्या गर्नु सरह हुने पनि बताए । ‘नेपाली जनताले ७० बर्षसम्म लडेर ल्याएको प्रजातन्त्र, संविधान, गणतन्त्र, समावेशिता सबैलाई अहिलेको सरकारले उल्टाउने काम गरिरहेको छ,’उनले भने,‘धमाधम प्रजातन्त्र विरोधी कानुनहरु ल्याइरहेको छ, र सर्वसत्तावादको अभ्यास यो सरकारले गरिरहेको छ ।’ पौडेलले यो उपनिर्वाचनमा तानाशाहीलाई जिताउने कि कम्युनिष्टलाई खबरदारी गर्न कांग्रेसलाई जिताउने भनेर मनन गर्न पनि आग्रह गरेका थिए ।

sashank-koirala

यस्तै, कांग्रेस महामन्त्री सशांक कोइरालाले अहिलेसम्म कांग्रेसले नै नेपालको भौतिक, आर्थिक, सामाजिक विकास गरेको दाबी गर्दै वर्तमान सरकार भने पानी जहाज र रेल चलाउने सपनामा निदाई रहेको टिप्पणी गरे । ‘जे जति विकास भएको छ, त्यो सबै कांग्रेसले गरेको हो, यो दुई तिहाई सरकार त पानी जहाज र रेलको सपनामा छ । मेरो ओली जीलाई आग्रह छ, कि तपाई गरिब जनतालाई सोच्नुस्, यो सपना देख्न छोड्नुस्,’उनले भने । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइराला, महेश आचार्य, युवा नेता रामहरिण खतिवडालगयले पनि बोलेका थिए ।

सेवा, सुविधा पारदर्शी गर्छुः तिलक राई

Tilak-rai 5

कांग्रेस उम्मेदार तिलक राईले कम्युनिष्टहरुले सधै जितेको धरानमा विकास र प्रगति नभएको देखेर जनतामा निराशा छाएको बताए । आफुले मत माग्दै घरदैलो गरिरहदा जनताले यसपाली भोट हाल्न नजाने भन्दै निराशा व्यक्त गरिरहेको उनको भनाई थियो । ‘जितेर जानेहरु फर्केर पनि आउनु भएन, केही पनि वचन पुरा भएन भनेर मतदाताहरु यसपाली त भोट दिदैनौं भनिरहेका छन्,’उनले भने,‘यो सब कसले गर्दा भएको हो ? मलाई जिताउनु भयो भने म नगरको सबै सेवा सुविधालाई पारदर्शी गर्नेछु, सबैको पहुँचमा पुर्याउनेछु । भ्रष्टचार र अनियमिततालाई रोक्नेछुँ ।’

उनले धरान मृत शहर बनिरहदा कांगे्रसले नै वीपी प्रतिष्ठान ल्याएर बचाएको उल्लेख गर्दै खानेपानी आयोजनाको बजेटको यथार्थ हिसाब किताब सार्वजनिक हुनुपर्ने पनि बताए । साथै, सम्झौता अनुसारको खानेपानी नगरबासीलाई वितरण गर्नुपर्ने आफ्नो एजेण्डा रहेको पनि उनले बताए । अवैज्ञानिक र अव्यवहारिक कर लगाएपछि कांग्रेसको नेतृत्वमा भएको आन्दोलनले घटाउन सफल भएको भन्दै उनले आफु जितेर गएपछि साना व्यापारीहरुलाई कर छुट गर्ने र करको स्रोत बढाउने बताए । उनले कांग्रेसप्रतिको जनलहर देखेर नेकपा आत्तिएको र मतान्तर १६ हजारबाट घटाउदै अहिले १ हजारले जित्छौं भनिरहेको पनि बताए । ‘म कांग्रेसको मतले मात्र होइन, कम्युनिष्टको मत, समाजवादी, लिम्बुवान, जनमुक्ति, राप्रपा सबैको मतले जित्छु,’उनले भने ।

कार्यक्रममा पुर्वमाओवादीका जिल्ला कमिटि सदस्य प्रेमबहादुर लकान्द्रीसहित सय भन्दा बढी विभिन्न क्षेत्रका व्यक्तिहरु कांग्रेसमा प्रवेश गरेका थिए । सुनचादी व्यवसायीको नेतृत्वकर्ता लकान्द्रीलाई कांग्रेसले सोही कार्यक्रममा आमन्त्रितत जिल्ला कमिटि सदस्यमा नियुक्ती गरेको पत्र पनि थमाएको थियो ।