धरान: मंसिर १४ गतेको उपनिर्वाचनमा कम्युनिष्टहरुको गढ मानिएको धरानमा नेकपाको नमिठो पराजय भयो । पञ्चायत र २०४६ सालपछिका हरेक चुनावमा जितेका कम्युनिष्टहरुले धरानमा पहिलो पटक उपनिर्वाचनमा हार व्यहोरे ।

धरानमा भएको हार केवल यहाँका कम्युनिष्टहरुलाई मात्र हल्लाएन, मुलुकलाई नै तरंगित बनायो । संख्यात्मकरुपमा नेकपाले चुनाव भएको स्थानहरुमा दुई तिहाई जित हासिल गरेपनि धरान र भक्तपुरमा भएको पराजयले समग्रमा जितको खुशी मनाउन दिएन । उपनिर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले हराउदै मेयरमा विजयी भएका थिए । अघिल्लो निर्वाचनमा तत्कालिन एमाले र माओवादी केन्द्र अलग अलग चुनाव लड्दा पनि एमालेले ४ हजार ८ सय बढी मतले जितेको थियो । त्यसैले उपनिर्वाचनमा हार होला भनेर नेकपाका नेताहरुले एक मनमा पनि सोचेका थिएनन् ।

उपनिर्वाचनको परिणामले भने नेकपाका नेता, कार्यकर्ताहरुलाई स्तब्ध बनायो । झण्डै ६० बर्षे लामो कम्युनिष्ट विरासत गुम्यो । अहिले नेकपाका नेता, कार्यकर्ताहरु कसरी आफ्नो हार भयो ? यही समिक्षामा केन्द्रीत भएका छन् । नेताहरुका अनुसार धरानमा उपनिर्वाचनमा पराजय हुनुको कारणबारे २० वटै वडाहरुमा गहनरुपमा समिक्षा भइरहेको छ । यस्तै, विभिन्न जनसंगठनहरुको निर्वाचन परिचालन समितिहरुमा पनि चुनाव हार्नुको कारणबारे समिक्षा भइरहेको छ । मंसिर २५ गतेसम्म सबै वडाको समिक्षा सकेर नगरस्तरीय समिक्षा गरिने नेकपाको जिल्ला कमिटि सचिव तथा उपनिर्वाचन परिचालन मुल समितिका संयोजक रमेश बस्नेतले जानकारी दिए । ‘वडासम्म समिक्षा भइरहेको छ, मंसिर २५ मा वडाको समिक्षा सकिएपछि नगरस्तरको समिक्षा हुन्छ,’उनले भने ।

प्रारम्भिक प्रतिवेदन पठाइयो

nekapa-student

नेकपाले चुनावमा हार व्यहोर्नुको कारणबारे समिक्षा नसकिदै प्रारम्भिक प्रतिवेदन भने पार्टीको केन्द्रमा पठाइसकेको छ । मंसिर १८ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले धरान र भक्तपुुरमा हार भएको बारेमा समिक्षा गरेर ३ दिनभित्र पठाउन निर्देशन दिएको थियो ।
सोही निर्देशन वमोजिम धरान उपनिर्वाचन परिचालन समितिको सचिवालय बैठक बसेर प्रारम्भिक प्रतिवेदन पठाएको हो ।

चुनाव हार्नुको दर्जन कारणहरु उल्लेख भएको प्रारम्भिक प्रतिवेदनमा मुख्य कारण भने कर वृद्धि र जनप्रतिनिधिहरुको व्यवहार भएको उल्लेख छ । ‘प्रारम्भिक प्रतिवेदन पठाइएको हो, विस्तृत प्रतिवेदन आउनै बाँकी छ । पठाइएकोमा कर वृद्धि, जनप्रतिनिधिको व्यवहार मुख्य कुरा हो,’निर्वाचन परिचालन मुल समितिका संयोजक रमेश बस्नेतले भने ।

mahila

यसबाहेक, पार्टी एकीकरणलाई तल्लो तहसम्म पुर्याउन ढिलाई गर्नु पनि चुनावमा हार हुनुको कारण मानिएको छ भने नेकपाले आफ्नो उम्मेदवार चयन गर्न ढिला गर्नु पनि अर्को कारण मानेको छ । यसैगरी, जनवर्गीय संगठनहरुको एकता प्रक्रियामा ढिलाई हुनु, विपक्षीले मतदाताहरुमा बाँडेको आर्थिक, भौतिक प्रलोभनबारे समयमै जानकारी नपाउनु, विपक्षीहरुको गठबन्धनलाई रोक्न नसक्नुलाई पनि प्रारम्भिक प्रतिवेदनमा समेटिएको बस्नेतले जानकारी दिए ।