इटहरी : धनकुटामा रहेको विश्रान्ती मन्दिरमा आश्रित बृद्धबृद्धालाई टाकुरा साप्ताहिकले सहयोग गरेको छ । इटहरी-२०, तरहरबाट तीन बर्ष अगाडिबाट प्रकाशन हुँदै आएको टाकुरा साप्ताहिकले शुक्रबार महाशिबरात्रीको अवसर पारेर बृद्धाश्रममा आश्रित ५० जनाको हाराहारीमा रहेका बृद्धबृद्धाहरुलाई सहयोग गरेको हो ।

बरिष्ठ फोटो पत्रकार सुवर्ण शमशेर बिष्ट, टाकुरा साप्ताहिकका प्रकाशक विशाल घिमिरे अनन्त, कार्यकारी सम्पादक विवेक विवश रेग्मी, व्यवस्थापक राजन कोइराला र संवाददाता मनोज निरौला सहितले बृद्धबृद्धालाई जुस, फलफूल तथा मिठाई सहयोग गरेका हुन् । ‘महाशिबरात्रीको अवसर पारेर केही सामाजिक काम गरौँ भनेर यो सानो प्रयास मात्रै गरेका हौँ,’ कार्यकारी सम्पादक रेग्मीले भने, ‘यो सानो प्रयास मात्र हो, आगामी दिनमा बृद्धबृद्धाको आशीर्वादले हामीलाई काम गर्नका लागि हौसला मिल्नेछ ।’ बरिष्ठ फोटो पत्रकार बिष्टले शिबरात्री एउटा महान पर्व रहेको र यो दिन शुभ कार्य गरेमा लाभदायक रहने बताए ।
विश्रान्ती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सारदाप्रसाद मिश्रले भने पत्रकारिता क्षेत्रबाट अहिलेसम्म सामाजिक रुपमा सहयोग नभएको र यो सहयोग सराहनीय रहेको बताए । उनले भने, ‘आगामी दिनमा तपाईँहरुको कलम सत्यको मार्गमा चलोस्, यो काम सराहनीय छ ।’