पथरी : लकडाउनका कारण बन्द रहेका बजार खोल्ने निर्णय गरेको पथरीशनिश्चरे नगरपालिकाले एक हप्ता नबित्दै पुन: बजार बन्द गर्ने निर्णय गरेको छ ।

गत हप्ता उद्योग वाणिज्य सङ्घ,नगरपालिका र प्रहरीले संयुक्त रूपमा दैनिक ४ घण्टा बजार खोल्ने निर्णय गरेको थियो । बजार खोल्ने निर्णयले बजारमा भिडभाड हुने र कोरोना भाइरस जोखिम बढ्ने भन्दै आलोचना भएपछि नगरपालिकाले बजार हप्तामा २ पटक मात्र खोल्ने निर्णय गरेको छ ।

उपभोक्तालाई खाद्यान्न र तरकारीको अभाव नहोस् भनेर नगरपालिकाले हप्तामा २ दिन बजार खोल्ने निर्णय भएको नगर प्रवक्ता याम प्रसाद गुरागाईले जानकारी दिए ।
पथरी बजार साताको शनिवार र मङ्गलवार मात्र दिउँसो १ बजेदेखि ३ बजेसम्म अत्यावश्यक खाद्यान्न, सागसब्जी, फलफूल र दूधजन्य पसल खुला गर्न निर्णय गरेको गुरागाइले जानकारी दिए ‘खोलिएको दिन पनि २ घण्टा मात्र पसल खोल्ने र सर्तकताका अपनाउन सुझाव दिएका छौ’ गुरागाइले भने ।

नगरपालिकाले लकडाउनलाई कडाइ बनाउन पसल खोलिएको समयमा बालबालिका र ज्येष्ठ बाहेकका १ जना मात्र सदस्यले सामान लिन आउनु पर्ने नियम बनाएको छ ।