इटहरी : प्रदेश नं १ का दुई उपमहागर इटहरी र धरानले लामो समयदेखि चारकोशे जंगलमा फोहोर फाल्दै आएको छ । जंगललाई डम्पिङ साइट बनाउदा प्रकृति, वन्यजन्तु एवं पर्यावरणलाई नकरात्मक असर परिरहेको भन्दै विरोध पनि भइरहेको छ ।

यो डम्पिङ साइटले पार्ने असर यतिमा मात्र भने सिमित छैन । यहाँको फोहोर बगेर दक्षिणी भेगका बासिन्दाको खेतका गह्रा र घरको आँगनसम्मै पुग्ने गरेको छ । घार,आँगन र खेतमा फोहोर थुप्रिएर किसानहरु आजित छन् । उनीहरुले यसको विरुद्धमा थुप्रै पटक आवाज नउठाएको पनि होइन, तर सुनुवाई भएको छैन । दुवै उपमहानगरले फोहोरको उचित व्यवस्थापन गर्न सकेको छैन । उपमहानरले जंगलमा नै सेफ्टी ट्यांकीको फोहोर पनि फाल्ने गरेको छ ।

Phohor 1धरान उपमहानगरले कोशी राजमार्गमा पर्ने सेउती पुलदेखि उत्तरपटि चारकोशे जंगलमा फोहोर फाल्ने गरेको छ । इटहरी उपमहानगरको फोहोर पनि उक्त सेउती पुलदेखि केही दक्षिणमा फालिन्छ । बर्खाको समयमा सोही फोहोर बाढीले बगाएर रामधुनी ७ बक्लौरीको गाउँमा पु¥याउने गरेको छ । बक्लौरीका बासिन्दा बाढीले बगाएर ल्याएको फोहोरका कारण रोग लाग्ने, आफ्नो खेतको उर्बरा शक्ति घट्दै जानेजस्ता समस्याले पीडित छन् । रामधुनी ७ बक्लौरीका बासिन्दा केदार प्रसाद लुइटेलले हस्पिटलमा प्रयोग हुने सिरिन्ज, मरेका चौपाया, प्लाष्टिक, बोतललगायत स्वास्थ्यलाई नोक्सानी पुग्ने फोहोरजन्य वस्तुहरु बाढीको समयमा बगाएर घर, खेतमा ल्याउने बताउँछन् । ‘बक्लौरीका मानिसहरुले धरानमा गएर जानकारी पनि गरायौ, तर सुनुवाई भएन,’ उनले भने ।

स्थानीयबासी देवी चौलागाई फोहोरलाई बाढीले बगाएर गाउँमा ल्याउने भएकोले गम्भीर रोग फैलने जोखिम रहेको बताए । खेत, घरआँगनमा सिरिन्ज, बोतल, फलामका टुक्रालगायत पुग्ने र यसले गाईवस्तुसँगै मानिसलाई पनि समस्या हुने गरेको उनले बताए । खेतमा जम्मा भएर बस्ने यस्ता फोहोरले खेतीयोग्य जमिनको उर्बराशक्ति ह्रास गराउदै गएको पनि उनले बताए । ‘खोलाको पानीमा यस्ता फोहोर आएको हुन्छ, गाउँको गाईवस्तु त्यहाँ आहाल बस्छ । पानी खान्छ, यसले गाइवस्तुलाई पनि ठुलो समस्या गराउछ,’उनले भने,‘गाइवस्तु र मानिसलाई पनि सिरिञ्जले घोच्ने गर्छ ।’

सेफ्टी ट्याङ्कीको फोहोर फाल्न आएका इनरुवाका ड्राइभर भक्त गुरुङले आफु कर्मचारीमात्र भएको बताउदै फोहोर जंगल क्षेत्रमै जलाउदा हावाले धुँवा फैलाउने र मानव स्वास्थ्यमा पनि नकरात्मक असर पुग्ने बताउँछन् । तरहराका स्थानीय बासिन्दा धुब्र भण्डारी स्थानीय तहको चुनावी भाषणमा प्रत्येक दलले फोहोर मैला व्यवस्थापन पहिलो एजेन्डा भएको बताएपनि त्यो भाषणमा मात्र सीमित भएको बताउँछन् । ‘फोहोरलाई जंगलमा फाल्न बजेट विनियोजन गरिएको छ, यो त बालुवामा पानी हाले सरह भयो,’उनले भने‘बरु कुहिने फोहोर एकतिर, नकुहिने फोहोर एकतिर, इलेक्ट्रिक फोहोर एकतिर पारेर व्यवस्थापन गर्नुपर्छ । कति फोहोर पुनःप्रयोग गर्नसकिन्छ । बरु यतातिर बजेट लगाए राम्रो हुन्थ्यो ।’

कोशी राजमार्गमा हिड्नै मुश्किल

साँझ पाँच बजेपछि जंगल हुदै कोशी राजमार्गको धरान इटहरी सडकखण्ड हिड्नै मुश्किल पर्छ । फोहोर जलाएर निस्केको धुँवाले कुहिरोमण्डल बनेको हुन्छ भने मरेका चौपायाको दुर्गन्धले श्वास फेर्न पनि मुश्किल पर्छ । तरहरास्थित प्रहरी चौकीका एक प्रहरीले बायु प्रदुषणका कारण रोग निम्तिने मात्रै नभएर सडक दुर्घटनाको जोखिम पनि बढाएको बताए । ‘साँझको बेला धुँवाले सडकलाई छोपेका हुन्छ, त्यसले दुर्घटनाका खतरा बढाएको छ, स्वास्थ्यमा पनि असर पर्छ,’ती प्रहरीले भने ।

फोहोर प्रशोधन गरौः वडाअध्यक्ष

रामधुनी-७ वडा अध्यक्षसमेत रहेका जिल्ला बन महासंघ सुनसरीका अध्यक्ष केशव गौतमले फोहोर प्रशोधन गरी व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गर्छन् । यसको लागि धरान, इटहरी र रामधुनी नगरपालिकाले संयुक्त पहल गर्नुपर्ने उनको भनाई छ । हुन त धरान र इटहरीमा फोहोर प्रशोधन केन्द्र बन्ने तयारीमा छ । ‘यो समस्या धरान, इटहरी र रामधुनीको पनि हो, तीनै स्थानीय तह मिलेर फोहोर प्रशोधन गर्ने विकल्पमा जानु उपयुक्त हुन्छ,’ उनले भने,‘यसरी सधै जंगलमै फोहोर फाल्ने र कृषकको घरखेतमा फोहोर पुगेर बाझो रहने अवस्थाको अन्त्य गर्नुपर्छ ।’

photo 3 18इटहरीले लामो समयदेखि इन्भारो केयर कन्र्सनलाई फोहोर फाल्ने जिम्मा दिएको छ भने धरानले आफ्नै सफाई मजदुरहरुमार्फत फोहोर संकलन गरेर फाल्ने गरेको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले नयाँ कम्पनीले फोहोर उठाउने जिम्मा लिएसँगै इटहरी १० को ल्याण्डफिल साइडमा मेसिन जडान गरेर पुनः प्रशोधन हुन सक्ने र नसक्ने छुट्याएर फोहोरलाई व्यवस्थित गरिने बताए । यद्यपी, यो काम शुरु हुन २०७६ साल पर्खनुपर्नेछ । त्यसबेलासम्म जंगलमा नै फोहोर फालिनेछ । धरानले फोहोर प्रशोधन केन्द्र स्थापना गरी फोहोर व्यवस्थापनको लागि निजी कम्पनीलाई जिम्मा दिने तयारीमा । कम्पनीसँग सम्झौता भइसकेको र पानवारीमा कम्पनीले प्रशोधन केन्द्र स्थापना गर्न जुटेको धरान उपमहानगरपालिकाले जनाएको छ ।