धरान:धरानको अग्रणी नाट्य संस्था आरम्भ नाट्या डबलीले बुधबार ३० औं स्थापना दिवस मनाएको छ । होटल रत्न इनमा आयोजित कार्यक्रममा धरानको रंगमञ्च तथा थिएटर हलको आवश्कताबारे बहस मात्र भएन, यातनाको अन्त्य नामको लघु नाटक पनि मञ्चन गरियो ।

वक्ताहरुले जनप्रतिनिधि आएपनि धरानको कला, साहित्य, सँस्कृतिको विकासमा ध्यान नदिएको गुनासो गरे । विकास र समृद्धि भनेको सडक, ड्रेन, व्यापार मात्र हो भन्ने सोचाई जनप्रतिनिधिहरुको भएको उनीहरुको गुनासो थियो । प्रमुख अतिथि एवं भाषाविद् डा.टंक न्यौपानेले धरानमा थिएटर हल नहुनु दुःखद भएको बताए । स्थानीय र प्रदेश सरकारले यसमा ध्यान दिनुपर्ने उनले बताए । यस्तै, धरान प्रज्ञान प्रतिष्ठानका सहसंयोजक डा.भेला पोख्रेलले पनि कला, साहित्य, सँस्कृतिको विकासमा ध्यान दिन नसकेके गुनासो गरे ।

aIMG_9276

आरम्भका अध्यक्ष गोपाल देवानले संघीयतामा पनि केन्द्रीकृत व्यवस्था जस्तै जनप्रतिनिधिहरुको सोच भएको बताए । उनले धरानमा एउटा थिएटर हल बनाउने योजना उपमहानगरको नेतृत्वले वेवास्ता गरेको बताए । थिएटर हलको अभावमा निरन्तर नाटक मञ्चन हुन नपाउदा नयाँ पुस्ता पनि आउन नसक्ने उनको भनाई थियो ।

यातनाको अन्त्य मञ्चन

नाटक मञ्चन गर्दा विभिन्न दृष्य(सिन)हरु तयार गर्नुपर्ने हुन्छ । त्यही दृष्य अनुसार विभिन्न सामग्रीहरु(प्रप)हरु प्रयोग गर्नुपर्छ । लाइट(प्रकाश) र साउण्ड(ध्वनी) पनि सिन अनुसार चाहिन्छ । त्यसको लागि व्यवस्थित र अत्याधुनिक अलग्गै नाटकघर(थिएटर हल) आवश्यक पर्छ । तर, बुधबार आरम्भले होटल रत्न इननकै गोष्ठी, सेमिनार गर्ने हलमा लघुनाटक यातनाको अन्त्य मञ्चन गरेका छन् ।

aIMG_9290

यो नाटक सत्य घटनामा आधारित हो । २०३६ सालमा धनुषाको जदुकुवामा तत्कालीन पञ्चायती व्यवस्थाको निर्देशनमा प्रहरीले कुशेश्वर, कामेश्वर झा र एक महिलाको हत्या गरेको थियो । उक्त हत्याकाण्डका नाइके प्रहरीका डिएसपी थिए । पछि ती डिएसपी सो घटनापछि विछिप्त बने, र आत्महत्या नै गरे । तिनै डिएसपीको मनोविज्ञान दर्शाउने नाटक मञ्चन गरिएको थियो ।

नाटकमा डिएसपीको भुमिकामा शान्तिराम राई, उनकी श्रीमतिको भुमिकामा शारदा श्रेष्ठ, नोकरको भुमिकामा कमानसिं यम्फु र क्रान्तिकारीको भुमिकामा प्रेम नेपाली छन् । गोपाल देवानले लेखेको नाटकलाई प्रविण राईले निर्देशन र पानस गुरुङको सहनिर्देशन थियो ।

aIMG_9299 aIMG_9322